आश गुरुङ,
लमजुङ, पुस ४ गते ।
तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको निधनपछि आन्दोललित नेपाली कांग्रेस र उसको भातृसंगठनले गरेको नेपाल बन्दका कारण लमजुङको जनजीवन कष्टकर बनेको छ ।
कांग्रेस कार्यकर्ताहरुले सदरमुकाम वेसीशहर, नगरोन्मुख भोटेओडार, सुन्दरबजार लगायतका ठाउँ साथै ग्रामीण क्षेत्रमा हुल बाँधेर बन्द गर्दै हिँडेकाछन् ।
बन्दका कारण कलकारखाना, बजार, यातायात ठप्प छन् । सवारी साधनहरु नचल्दा ग्रामीण भेग साथै छोटो तथा लामो दुरीका यात्रुहरु अलपत्र परेकाछन् । बन्दका कारण विश्वविख्यात अन्नपर्ूण्ा पदमार्गका लागि वेसीशहर पुगेका पर्यटकहरु समेत अलपत्र अवस्थामा छन् ।
बन्दका कारण लमजुङमा शैक्षिक संस्थाहरु पनि ठप्प छन् । बन्दले गर्दा हिजोदेखि शुरु भएको प्राथामिक, निम्न माध्यमिक र माध्यमिक विद्यालयका परीक्षाहरु रोकिएकाछन् । बन्दका कारण सदरमुकाम वेसीशहर साथै अन्य ठाउँमा हुने भनिएका सरकारी तथा गैरसरकारी कार्यालयका सवै कामहरु रोकिएकाछन् ।
यातायातका साधनहरु नचलेपछि लमजुङका सडकहरु खेल मैदानमा परिणत भएकाछन् । नजिकै खेल मैदान नरहेको सदरमुकाम वेसीशहर बजारका बालवालिका तथा युवायुवतीहरु सडकहरुमा खेल्न थालेकाछन् ।
जनजीवन नै कष्टकर हुने गरिएको बन्दलाई लमजुङका अन्य राजनीतिक दलहरुले भने आपत्ति जनाएकाछन् । कानुन हुँदा हुँदै पनि सडकमा आन्दोलन गरेर नेपाली कांग्रेस जस्तो जिम्मेवार पार्टर्ीी लोकतन्त्रको खिल्ली उडाएको अन्य राजनीतिक दलहरुको आरोप छ । अन्य राजनीतिक दलले नेपाली कांग्रेसलाई समस्या समाधानका लागि सहमतिमा जान र कानुनको बाटो रोज्न सुझाव दिएकाछन् ।
यसैवीच, प्रायः बन्दको प्रभाव नपर्ने हिमालपारीको जिल्ला मनाङमा पनि बन्दको प्रभाव परेको छ । बन्दका कारण सदरमुकाम चामेका बजार क्षेत्र लगायतका ठाउँ ठप्प रहेको मनाङवाट बीपी लामाले जानकारी दिनुभएको छ ।