- गणेश खड्का |
फेरी भेटौंला, आउँदै गर्नू है !
मेरो बुढो सगरमाथाले तिम्रो बिदाईका बखत भनेथ्यो
लेपास्सिएर तिम्रा भङ्गिमाहरु चिच्याउँदै थिए- सि यू एगेन !
अघिल्लो भ्रमण वर्षताका मेरो देश घुम्न आउँदा
हिमाल टल्काउँदै दाँतमा उखुम मस्केर
बेस्मारी पल्किएँ भनेकी थियौ तिमीले
माछा पुच्छ्रेले सनक्क आँखा सन्काइदिंदा सम्मोहित तिमी ।
निर्मिमेष जुधाएर युगल नेत्रहरु सहसा
तिम्रा कोकिल कण्ठले खुलासा गरेथे
मायाँ लायो रे तिमीलाई मेरो देशले - मैले जस्तै
मेरो देशको हिमानी देखेर वशीकृत तिम्रो मन
मनोविनोदी सयल खाँदै खुब हिमचिम गरेथ्यो
मलाई झलझली छ, तिमी पल्किएको ऊ बेला
ईलामको चियामा,घान्द्रुकको गुन्द्रुकमा र मलेखुको माछामा
मैले लख काटेको थिएँ तिमी सलक्कै सल्केको
ह्यार्तुङको केशमा,फेवाको ओठमा र डाँफेको वैंशमा ।
मलाई हेक्का छ, मसक्क तिमी मस्किएको त्यो क्षण
पालाम भन्दा, सिली गाउँदा र कौडा नाच्दा
हाक्पारेमा, साकेलामा र रोधीमा
मकालुसँग,कन्चनजङ्घासँग र अन्नपूर्णसँग
कल्पिने गर्दछु अद्द्याबधी म
कती बाफिला स्पर्शहरु स्खलित बने होलान्
मन मैथुन बनेर कती सपनाहरुमा तिम्रा
सूनमा रुपान्तरित तिम्रा केशराशीले
ट्याम्के सम्मै लर्काएथे तीनजुरेको लाली गुराँस थूँगा
फूलेथें म उसैगरी गर्वले गुराँस जस्तै, पहाड झैं ।
तिमी हिंडेपछी, त्यो ताकाको भ्रमण वर्ष पछी
मेरो देशले थुप्रै युद्द वर्षहरु खेप्यो
फेरी आउँछु है ! भनेर गएकी तिमी आइनौ
मेरो देशले खालखालका क्रान्ति वर्षहरु झेल्यो
र कटायो धेरै-धेरै .......
हत्या वर्षहरु, आतङ्क वर्षहरु र अपहरण वर्षहरु
तोडफोड वर्षहरु,हड्ताल वर्षहरु र बन्द वर्षहरु
र अनेकौं आमूल परिवर्तन वर्षहरु
तर मेरो देशलाई फर्केर पनि हेरिनौ तिमीले
खबर पायौ कि पाइनौ / निम्तो आयो कि आएन ?
मेरो देशले फेरी अर्को भ्रमण वर्ष मनाउँदैछ
पुन: अर्को पर्यटन वर्ष समापन गर्दैछ ।
सपना जस्तो धमिलो तिम्रो पुनरागमन खोइ ?
लेखिनेछन् / पठाइनेछन् भनेका
पत्रहरु ... / ई-मेलहरु... कहाँ ... ?
शायद तिमी यतिबेला स्वच्छन्द / स्वतन्त्र
अर्को भ्रमण वर्ष / शान्ती वर्ष मनाउँदै हौली
कहिंकतै यही गोलार्द्धभित्रका बस्तिहरुमा
यतिबेला,बिधी-बिधान बिनाको मेरो देशमा
मेरा खुट्टाहरु बन्दी भएकाछन् - छाडा स्वतन्त्रताले
मेरो साँचो स्वतन्त्रता कैदी बनेकोछ
औसत दिनैपिच्छे बन्द हुने र लुटिने
मेरो देशको निरिह अस्मिता जस्तै
अहिले-
तिमी हुन नसकेको म,
र
म हुन नसकेकी तिमी
बिपरित ध्रुवबाट
भूगोलको फरक सिमारेखाबाट
गरिरहेछौं शायद विवस दृष्टिगोचर
आ-आफ्नै अन्तर्चक्षुले
मेरो देशको मनोदसा ।
****************
भोजपुर
हाल : फ्रिगेट आइल्याण्ड ( सेसेल्स )