दिनेश रेग्मी कुवैत, मंसिर २६ - छुट्टीको दिन नेपाली भेला हुने कुवैत सिटीको ‘मालिया पार्क’ नजिक एक होटलको हलमा नेपालीहरुले आफुले भोगेको दुःख, सुख, हाँसो, खुसी, घरको संझना, स्वदेशको माया पोखे ।
यहाँबाट त्रैमासिक रुपमा प्रकाशित ‘मरुभुमीको कोशेली’ पत्रिकाद्धारा आयोजित सांस्कृतिक कार्यक्रममा ३५ कलाकारले गीत, नृत्य, ठट्यौलीमार्फत त्यसलाई प्रस्तुत गरे । कलाकारहरु कुवैतमै विभिन्न पेशामा कार्यरतहरु हुन्, जसमा घरेलु कामबाट शुक्रवार एकैछिन फुर्सद निकालेर आएका घरेलु महिला कामदार पनि थिए ।
पत्रिकाले आफुलाई बचाउन आर्थिक सहयोगको लागि च्यारिटी शोको रुपमा सांगीतिक कार्यक्रम गरेको हो । सांगितिक कार्यक्रममा कुवैतका नेपाली सांगीतिक समुहहरु नेपाल कुवैत सांस्कृतिक मञ्च र लाली गुराँस सांस्कृतिक परिवारका कलाकारहरु जुटेका थिए ।
नेपाली र कुवैती राष्ट्रिय गीत गायनबाट शुरु सांस्कृतिक कार्यक्रममा कलाकारहरुले म त नेपाली, नजाऊ है सानु पंधेरीमा, तिमी मसंग नेबोल्ने अरे, झिल्केको, हावा सरर, कान्छीलाई छाड्दीन, सालैजो, च्याङ्वा, पुर्वको ठिटो, चिया बारीमा लगायतमा गीत नृत्य प्रस्तुत गरे ।
राजदुत मधुवन पौडेलले कार्यक्रम उद्घाटन गर्दै पत्रिकाले नेपाली समुदायमा सहयोग तथा सांस्कृतिक कार्यक्रमले प्रतिभा प्रस्फुटमा अबसर दिलाएको चर्चा गरे । कार्यक्रममा नेपालीका अलवा कुवैतमा संचालित स्थानीय कंपनीका प्रतिनिधीहरु पनि थिए ।
करीव ५ घण्टा चलेको कार्यक्रममा अपेक्षा गरे अनुरुप दर्शक उपस्थित हुन नसके पनि विभिन्न व्यक्ति तथा संघ संस्थाले नगद १२ सय कुवेती डिनार (करीव ३ लाख ६० हजार रुपैया) नगद सहयोग गरेको आयोजकहरुले बताएका छन् । कार्यक्रम खर्चको लागि लगभग त्यती नै वरावरको रकम विभिन्न कंपनीहरुबाट जुटेको पनि उनीहरुले जनाए ।
पत्रिकामा प्रवन्ध निर्देशक तथा संपादक सुजन केसीले पत्रिकालाई निरन्तरता दिन आर्थिक समस्या भएकोले सहयोगको लागि सांगितिक कार्यक्रम गरेको बताए । पत्रिका कुवैतमै कार्यरत नेपालीहरुले आफ्नो ड्युटीबाट बचेको समयको सदुपयोग गर्दै करीव दुई वर्षदेखि प्रकाशन गर्दै आएका छन् । साभार: ईकान्तिपुर डट कम