काठमाडौं , पुस ५,-अभिनेत्री झरना थापाले आफ्नो फेसबुक वालमा एउटा स्टाटस लेखिन् –‘...फेसबुक वालमा हिजोआज अश्लिल भिडियोहरू पोस्ट हुन थालेका छन् । यदि मेरो नामबाट कहिँकतै अश्लिल भिडियोहरू तपाईँको वालमा आएको छ भने ती सबै भाइरसको कारणले भएको जानकारी गराउँछु ।’ आफ्नो वालमा कसैद्धारा अपलोड गरिएको पोर्न भिडियोलाई हटाएपछि झरनाले उक्त स्टाटस लेखेकी थिइन् ।
अचानक भाइरस (ह्याकर ?)द्धारा यस्ता अश्लिल भिडियोहरू आफ्नो वालमा पोस्ट हुन थालेपछि नेपाली सेलिव्रिटीहरू चनाखो हुन थालेका छन् । बदनाम हुने डरले कतिपयले त छिनछिनमा फेसबुक एकाउन्ट चेक गर्न थालेका छन् । अभिनेता तथा निर्माता रेस मरहठ्ठा, हिरोइन विनिता बरालको भित्तोमा पोर्न भिडियो पोस्ट भएको थियो । हिरोइन नम्रता श्रेष्ठ, अनु शाह, पूजना स्त्री, निर्माता राजेश घतानी, नन्दिता केसीको वालमा यो समाचार लेखिरहँदा ती भिडियो अझै छन् ।
रोचक कुरा त, त्यस्ता भिडियोलाई खातावालकै फ्रेन्डहरूले पोस्ट गरिएको देखाइएको छ । थुप्रै सेलिव्रिटीले यस्ता भिडियोलाई अझै हटाएका छैनन् । खातावाल स्वयमले आफ्नै वालमा पोस्ट गरिएका त्यस्ता भिडियोलाई हटाउन र हेर्न नमिल्ने भएपछि झनै कठिन भएको छ । सोसल साइट जानकारहरू यसबाट बच्न दुई उपाय सुझाउँछन् । पहिलो –त्यस्ता भिडियोमा क्लिक नै नगर्ने र दोस्रो –फेसबुक सेटिङमार्फत आफ्नो वालमा आफूबाहेकले पोस्ट गर्न नमिल्ने बनाउने । सक्रिय भाइरसका कारण यस्तो समस्या देखिएको हो ।