"ह्याप्पी वेडिङ्ग् एनिभर्सरी आदित्य !"
हेमन्त परदेशी |
विहान मिर्मिर उज्यालो नहुँदै मेरो सेलफोनको स्क्रिनमा शब्दाकृत हुन पुगेको सहृदयी जीवनसङ्गिनी आकृतिको यो शुभकामना सन्देशले अनायसै मेरो निद्रा बिथोलियो ।
"ओहो ! साँच्ची आज त उनीसितको दाम्पत्य जीवन सुरुआतको सातौं बार्षिकी पो हो त ।"
स्मृतिपटलमा एकाएक ताजा बन्न पुगेको यो सम्झनासंगै हत्तपत्त मैले उनको मोबाइल नम्बर डायल गरेँ । यद्यपि उनीबाट अपेक्षाकृत जवाफ पाउँन असफल मात्रै बनिन अपितु मेरो कानमा एकोहोरो ध्वनित बन्न पुगेका उनका सुँक्क-सुँक्क आवाजहरु सुनेर एकाएक स्तब्ध समेत बनेँ म ।
"किन केही बोल्दिनौ आकृति?" मनभित्रको महसूसलाई अलिकति पनि ढाकछोप नगरी निसंकोच सोधेँ मैले -"के तिमी हाम्रो दाम्पत्य जीवनको सतबार्षिकीप्रति खुशी छैनौ र?"
"कुरा त्यो होइन आदित्य !" मलिन अनि रोदनीय आवाजमा बोलिन् उनी -"बरु यस्तो महत्वपूर्ण समयमा समेत तिम्रो सामीप्यता पाउँन नसक्दा अलिक खल्लोपनको महसूस चाहिँ भइरहेकोछ मलाई ।"
"त्यो त मैले पनि महसूस गरिरहेकैछु नि आकृति । " शंकाको दायरालाई अझ फराकिलो बनाउन खोजेँ मैले -"तर तिम्रो मौनताभित्र लुकेका अब्यक्त एवं अदृष्य पीडाभावहरुले केवल मेरो सामीप्यताको अभावको महसूसको आभास मात्रै होइन अपितु कुनै न कुनै कारणबाट तिमी जीवनप्रति नै उदास एवं निरास बनिरहेकीछौ भन्ने कुराको पुष्टि गरिरहेकोछ ।"
"होइन आदित्य ! यो केवल तिम्रो सतही अनुमान मात्रै हो ।" मेरो भनाइप्रति असहमति जनाउँदै थपिन् उनले -"वास्तविकता त यही नै हो कि यो केवल तिम्रो अनुपस्थितिले सिर्जना गरेको मेरो मनको खल्लोपनको उपज मात्रै हो न कि जीवनप्रतिको निराशा ।"
"तिमी जेसुकै भन आकृति !" आफ्नो भनाइमा झनै अडिग बनेँ म -"तर म तिमीभित्र बितिरहेका हरेक पीडाहरुलाई राम्ररी महसूस गर्न सक्छु । यहाँसम्म कि तिमी जीवनप्रति खुशी छौ या दु:खी भन्ने कुरा थाहा पाउँन तिम्रो शब्दहरुको श्रवण नै पर्याप्त हुन्छ मलाई ।"
"तिमी जे भन आदित्य !" प्रतिरक्षात्मक भावमा बोलिन् उनी -"तर म जीवनप्रति न कहिल्यै निराश बनेकीछु न त उदास नै । बरु तिमीसितको यति सहज र आनन्दमयी सहयात्राको मिठो अनुभूतिले कहिलेकाहीँ त अजम्बरी बनेर सदासर्बदा बाँचिरहन पाए हुन्थ्यो जस्तो लाग्छ मलाई ।"
"खै आकृति अर्काको मनभित्र पस्न सकिंदैन ।" पराजितताको भावमा बोलेँ म -"यदि मान्छेको मन पनि यौटा खुल्ला किताब झैँ भइदिए त्यसलाई शब्द शब्दहरुमा पढ्न सकिने थियो , तर………………..।"
"तर के आदित्य?" बीचैमा बोलिन् उनी -"के म तिम्रो नजरमा यति चाँडै अविश्वासको पात्र बनिसकेँ र?"
"होइन आकृति !" तुरुन्तै स्पष्टीकरण दिएँ मैले -"कुरा विश्वास र अविश्वासको होइन न त तिमीप्रतिको कुनै शंका नै । बरु डर त मलाई यस अर्थमा लागिरहेकोछ कि आफ्नो रोशनी छरेर धर्तीलाई सधैँ उज्यालो बनाइराख्ने संकल्प र समर्पणताको भावनामा यौटा निस्वार्थी जून कतै आफै भने भित्रभित्रै अँध्यारोभित्र हराइरहेको त छैन?"
"यति भावुक नबन आदित्य !" मलिन स्वरमा बोलिन् उनी -"वास्तवमा भन्ने हो भने तिमीसंगको सहयात्राबाटै मैले जीवनको सार्थकता बुझ्ने अवसर् पाएकीछु । एक अर्थमा भन्ने हो भने भौगोलिक रुपमा त्यति टाढा रहेर पनि तिमीले कुन कुराको कमी महसूस गर्न दिएकाछौ र मलाई? धन-सम्पत्ती , सुख-सयल अनि जीवनभर नछुट्टिने साथ । आखिर यौटा खुशी र सुखी जीवन जिउँनका लागि यसभन्दा बढी अरु के नै पो चाहिन्छ र?"
उनका यी भनाइहरुले उनी जीवनप्रति अत्यन्तै खुशी रहेको कुराको पुष्टि गर्न खोजे पनि उनका आवाजहरुमा समाहित भइरहेका उदासी भावहरुले मेरो मनभित्रको कालो बादलको घुम्टो उठाउन भने सकेन ।
"आखिर यति धेरै भौतिक सुख-सुबिधाहरुको पर्याप्ततासंगै मुटुभरिको मायाँ पाउँदा पाउँदै पनि उनी किन यसरी उदास बनिरहेकी होलिन्?"
उनीसितको लामो दुरभाषवार्ताको क्रममा मात्रै होइन वार्ता विच्छेदपछि पनि यही यौटा अनुत्तरित प्रश्नले मलाई झस्काइरह्यो । पल , सेकेन्ड र मिनेट हुँदै दिन फेरि क्रमश: राततर्फ उन्मूख हुँदैगइरहेको थियो ।
“आदित्य ! उ हाम्री छोरीलाई हेर त काटीकुटी तिम्रै फोटोकपी जस्ती छे ।”
आफ्नै धुनमा मस्त खेलिरहेकी गुडिया जस्तै लाग्ने सानी छोरीतिर देखाउँदै मुसुक्क मुस्कुराइन् उनी ।”
“फोटोकपी मात्रै हो र आकृति? स्क्यानिङ्ग् गरे जस्तै भनन ।”
त्यसै त ठट्टा गर्न माहिर म झनै उनको नशालु मुस्कान देखेर किन पो चुप लाग्थेँ र?
“ओके बाबा ! तिम्रै जीत भयो ।” आँखीभूइँ नचाउँदै थपिन् उनले –“तर यति पर्फेक्ट स्क्यान गर्न चाहिँ कसरी सिक्यौ तिमीले?”
“अरे आकृति ! के कुरा गरेकी तिमीले?” उनको नरम हत्केलाहरु सुम्सुमाउँदै बोलेँ म –“वास्तवमा स्क्यान गर्न त्यति ठूलो कुरा होइन । यौटा बटम दबाइदियो बस् त्यो आफसेआफ भइहाल्छ । बरु दुरुस्तै प्रतिलिपी उतार्नका लागि स्क्यानर चाहिँ राम्रो र गुणस्तरीय खालको हुन हुन जरुरी छ ।”
“त्यो त तिमीलाई नै थाहा होला नि ।” अलिक लजालुभावमा बोलिन् उनी –“आखिर अपरेटर न पर्यौ तिमी ।”
“हो त नि ।” तुरुन्तै बोलेँ म –“साँच्चै भन्ने हो भने त्यसको गुणस्तर मात्रै होइन नाप , नक्सा र गति प्रतिसेकेण्डको पनि राम्रो जानकारी छ मलाई ।”
“छि: एस्तो पनि बोल्ने हो?” साउतीको स्वरमा बोलिन् उनी –“कसैले सुन्यो भने?”
“सुन् के फरक पर्छ र?” उनको गुलाफी गाला चिमोट्दै थपेँ मैले –“आखिर वैवाहिक जीवनमा बाँधिनुको अर्थ यी सबै कुराहरुलाई बैधानिक मान्यता दिनु पनि त हो , हैन र आकृति?”
“त्यो त हो आदित्य !” स्वीकारोक्ति भावमा बोलिन् उनी –“तर एसो भन्दैम समाजमा बर्जित रहेका कुराहरुलाई यसरी सार्वजनिक अभिब्यक्ति दिनु पनि त हुँदैन , हैन र?”
“आकृति ! यस कुराको हेक्का त मैले पनि राखेकैछु नि।” स्पस्ट पार्न खोजेँ मैले –“तेसैले त आज म यो एकान्तपनको भरपुर फाइदा उठाउन खोजिरहेकोछु । मारवाडीले मैदामा फाइदा उठाए जस्तै ।”
“तर आदित्य !” सावधानीपूर्बक बोलिन् उनी –“यसलाई एकान्त ठान्नु तिम्रो महान भूल हो ।”
“किन आकृति?” उनको सचेतताको प्रवाह नै नगरी अगाडि थपेँ मैले –“के दुई शरीर मात्रको उपस्थितिलाई पनि एकान्तको परिभाषाभित्र समेट्न सकिंदैन र? आखिर तेश्रो ब्यक्तिको उपस्थितिको नाममा आफ्नै बालसंसारमा हराइरहेकी यही यौटी अबोध गुडिया बाहेक अरु को नै पो छ र?”
“छन् आदित्य ! अरु पनि कोही छन् यहाँ ।”
“हँ को?” एकाएक सावधानी अपनाएँ मैले ।
“उ त्यहाँ हेर त ।”
उनले औल्याएतिर नजर लगाएपछि पो बल्ल थाहा भयो उनले त नजिकैको पैयुँको रुखमा बसेर हामीतिरै दृष्टि हुत्याइरहेका ढुकुरको जोडीको कुरा पो गरेकी रहेछिन् ।
“ए हो त रहेछ नि ।”
एति भनेर मेरो होसहवास उडाइदिएको सजाय स्वरुप उनलाई च्याप्प आफ्नो बाहुमा कसेँ अनि अत्तपत्त उनको ओठमा आफ्नो ओठ पुर्याएँ । सायद , नारीसुलभ स्वाभावकै कारणले होला केहीबेर प्रतिकार गर्न खोजे झैं पनि गरिन् उनले । तर मेरो बलिष्ट बाहु सामु उनको प्रतिकारात्मक प्रयासको केही सीप लागेन । अन्तत: पराजितताको भावमा समर्पित हुनुको विकल्प रहेन उनीसित ।
त्यसपछि त के थियो र? हामी दुवै एक अर्कामा हराउन पुग्यँ र यौटा विल्कुल अलग दुनियाँको अकल्पनीय एवं आनन्दमयी गहिरो सागरमा चुर्लुम्मै डुब्यौं । तर , जब सन्तुष्टि र आत्मतृप्तिको चरम सुखनाभूतिले हामी दुवैजना पूर्ण स्खलित बन्यौं तब अनायसै झस्किन पुगेँ म ।
“छि: कस्तो बिग्रिएको सपना?”
निद्राबाट ब्युँझिने बित्तिकै स्वप्नदोषको नतिजा थाहा पाएर मनमनै सोचेँ मैले । नजिकैको टेबलमा रहेको ‘डिमलाइट’ बालेपछि पो थाहा भयो नाडीको घडीले भर्खरै रातको साढे बाह्र मात्रै बजाउँदैरहेछ । तर विवश मध्यरात भनेर के गर्ने र? म आफ्नो स्नानकक्षमा पस्न बाध्य बनेरै छाडेँ ।
कुबेलाको स्नानादि नै सही यौटा बाध्यता त जसोतसो किनारा लगाएँ तर, जब पुनर्ताजगी बनेर आफ्नो बिस्तारामा पुन: पल्टिएँ तब अनायसै मनभरि असरल्ल तर्क वितर्कका छालहरु उठ्न थाले । स्वप्नदोष त परिस्थितिको यौटा उपज मात्रै थियो तर सपनामा उनीसित भएका मिठामिठा कुराहरु सम्झेर कताकता नमिठो लाग्यो मलाई ।
“साँच्ची सपनामा जस्तै यथार्थमा पनि उनको काखमा यौटा सन्तान मात्रै भइदिएको भए उनको मातृत्व खुशीले कति गदगद हुन्थ्यो होला?” मनमनै अनुमान लगाएँ मैले ।
तर बिडम्बना ! भौतिक सुखसुबिधा र बिलासी जीवनको महत्वाकांक्षा बोकेर धन सम्पत्ती र दौलतको पछि भाग्दाभाग्दै जीवनका सम्पूर्ण उर्बर र महत्वपूर्ण समयहरु यही दूरदराजको रेगिस्तानमै खर्चिसकेको मैले उनको चाहनालाई बुझ्ने कोशिस नै कहिले गरेँ र?
यही आत्मग्लानी र पीडाबोधले अनायसै मेरो सोचाइमा परिवर्तनको भूइंचालो ल्याइदियो । अन्तत: धन सम्पत्ती र दौलतबाट प्राप्त हुने संसारका सबैखाले भौतिक सुखसुबिधाहरुले भन्दा यौटा सन्तान प्राप्तिबाट प्राप्त हुने भावनात्मक सुखानुभूतिले नै यौटी नारीलाई हाँसेर बाँच्ने प्रेरणा दिन सक्छ भन्ने निष्कर्षका साथ उनको उदासी जीवमा खुशीको बहार ल्याउन जतिसक्दो चाँडो स्वदेस फर्कने अठोट गरेँ मैले ।
आज डिसेन्बर तेइस् । सायद , अंग्रेजी क्यालेन्डरमा नयाँबर्षको सुरुआत हुँदा नहुँदै म मेरै बाटो कुरिरहेकी मेरी प्यारी जीवनसङ्गिनी आकृतिलाई भेट्न आफ्नो देस नेपाल् पुगिसकेको हुनेछु ।
लेखक अनेसास कतारका अध्यक्ष हुनुहुन्छ
हेमन्त परदेशी
हाल : दोहा कतार
अनेसास
हाल : दोहा कतार
अनेसास
--