समुन्द्र पौडेल,
तनहूँ पुस १६ गते ।
घरबाट भात खान आमाले फोन गर्दा केही क्षणमा आउँछु भन्दै फोनबाट बिदा मागेका अनिल रानाभाट अब कहिल्यै घर नफर्किने भएका छन् । माइतमा बसेर बिबिएस अध्ययन गर्दै आएकी श्रीमतीलाई फोन गर्न रिचार्ज कार्ड किन्न साँझ पख घरबाट निस्किएका उनलाई बिहीबार राती बसले ठक्कर दिदाँ मृत्यु भएको हो ।
पोखराबाट बिरगाजतर्फ जाँदै गरेको ना ४ ख ६११७ नम्बरको बसले बिहीबार साँझ तनहुँको जामुने ३ निर्मलबस्तीमा ठक्कर दिदाँ सडक किनारमा हिडिरहेका २३ वर्षिय अनिल सहित ४५ वर्षिय राजन रानाभाट र ४२ बर्षिय रेशम रानाभाटको मृत्यु भएको हो । दुर्घटनामा राजनका छोरा १४ वर्षिय आश्मित रानाभाट घाइते भएका छन् । नाताले राजन र रेशम अनिलका काका हुन् ।राजनको उपचारका लागि पोखरा लैजाँदै गर्दा अनिलको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा र रेशमको उपचारका लागि न्यूरो अस्पताल काठमाण्डौ लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट सामान्य घाइते भएका अश्मितको दमौली स्थित रत्नहरी मेमोरियल अस्पतालमा उपचार भईरहेको छ । बसको पट्टा भाँचिएपछि तिब्रगतीमा आएको बस सडक किनारको रुखमा गएर ठोक्किएको स्थानीय बासिन्दा कृष्ण रानाभाटले बताए । 'रुखमा ठोक्किए पछि बस सडकतर्फ मोडियो ।' उनले भने, 'बसले सडक किनारमा हिडेका ४ जनालाई नै ठक्कर दियो ।'
'श्रीमतीलाई फोन गर्न मोबाइलको रिचार्ज कार्ड लिन गएका रहेछन् ।' अनिलका काका संजय रानाभाटले भने 'श्रीमतीलाई फोन गर्ने उनको धोको पनि पुरा भएन् ।' रिचार्जकार्ड किनेर राजमार्ग आडैमा रहेको मामाको घरमा बसेका अनिल काकाद्धयसंगै भाई आएपनि उनीहरुसंगै घर फर्किएका हुन् ।बसले ठक्कर दिएर एकै खलकका ३ जनाको मृत्यु भएपछि अहिले निर्मलबस्ती शोकमा डुबेको छ ।
गत बैशाख ३० गते चितवन घरभएकी अन्जु रानाभाटसंग विवाह बन्धनमा बाधिएका उनको घर अगाडी विवाहको समयमा बनाएको अग्निकुण्ड आगोबाल्न बनाइएको ठाउँ अहिलेसम्म उस्तै छ । 'भात खान बोलाउँदा विजुली आएपछि घर आउँछु भनेको थियो ।' छोराको मृत्युले अचेत भएकी लक्ष्मी रानाभाटले बर्बराउँदै भनिन 'खै मेरो राजा ल्याइदेउ विजुली नगएको भए मेरो राजा घरमै हुन्थ्यो ।' अनिलको परिवारलाई सान्तवना दिन बुधबार घर पुगेर सबै गाउँले आखा रसाएरै फर्किने गरेका छन् ।
विगत लामो समयदेखी अफगानिस्तानमा सेक्यूरिटीको काम गर्दै आएका अनिलका बाबु सुर्य बहादुर रानाभाट घर फर्किन केही दिन लाग्ने भएपछि शुक्रबार उनका काका बिनोद रानाभाट कि्रयामा बसेका छन् भने राजनको दाई गणेश बहादुर रानाभाट र रेशमको १६ वर्षिय छोरा आशिष रानाभाट कि्रयामा बसेका छन् । भारतीय सेनाबाट अवकास लिएका राजन रानाभाट र नेपाली सेनाबाट अबकाश लिएका रेशम रानाभाट गाउँमा फर्किएपछि खेतीपाती र पेन्सनबाट परिवारको गुजारा चलाउँदै आएका थिए ।