सुमन वैरागी |
भनिन्छ संगीत समाजको ऐना हो। संगीतबाट नै समाजको विसंगति कुरिति हटाउन सकिन्छ र संगीतबाट नै समाज परिवर्तनको यात्रा सुरु गर्न सकिन्छ। त्यति मात्र होइन आफ्नो पहिचानका रुपमा पनि कलासंस्कृतिलाई जगेर्ना गर्ने सोचका साथ संगीतमा होमिएका थुप्रै स्रष्टाहरु पनि छन्। पहिला पहिला एउटा एल्बम निकाल्न धौ धौ पर्ने भयो भन्थे अझ पछिल्लो समयमा आएर त दिनानुदिन गीति एल्बमहरु बजारमा आउन थालेका छन् ।
कुनैबेला गीतसंगीतको बजार उच्च थियो। त्यतिबेला गीति एल्बम निकालेरै आफ्नो जीवनस्तर सुधारेका व्यक्तिहरु पनि छन्। एउटा एल्बम हिट भयो कि ऊ व्यक्तिले आफ्नो गायकीकै भरमा राम्रैसँग आफ्नो हैसियत सुधारेका छन्। संगीतकै कारण उनीहरुले आफूलाई सडकबाट महसम्म पुर् याएका छन् भने संगीतकै भर् याङ बनाएर विदेशमा पलायन हुँदै ग्रीन कार्ड लिएर विदेशमै मोजमस्तीमा रमेका पनि छन् भने कति एल्बम निकालेको ऋण तिर्न नसकेर पनि संगीत क्षेत्रबाट गुमनाम भएको अवस्था छ।
संगीत एउटा नशा हो। जो व्यक्ति संगीतमा लाग्छ उसले संगीतमा लागेपछि दुनियाँ संगीतमय देखेको हुन्छ। त्यसैले पनि होला अहिले संगीत क्षेत्रमा नयाँ नयाँ अनहारहरु भित्रन थालेका छन्। दिनदिनै एल्बमहरु विमोचनको प्रोग्रामहरु हुने गर्दछन्। एल्बमहरु विमोचनका कार्यक्रमहरु पनि कसैले पाँच तारे होटलतिर गर्छन् त कसैले हजारौं मूल्य तिरेर पार्टीप्यालेस रेस्टुरेन्टहरुमा ककटेल डिनरसहित गर्न थालेका छन्। दैनिक रुपमा हुने एल्बम विमोचनका कार्यक्रमहरु हेर्दा लाग्छ अहिले संगीतको बजार निकै उच्च स्थानमा पुगेको रहेछ । संगीतमा राम्रै कमाइ हुन थालेछ अब संगीत उद्योग घाटामा जाने छैन। तर त्यो भने पक्कै होइन किनकी दैनिक रुपमा जति एल्बम विमोचन भएका छन् उनीहरुले गरेको खर्चको लेखाजोखा गर्ने हो भने एउटा एल्बम निकाल्न लागेको खर्च बराबर लन्चिङ समारोहमा खर्च गरिएको देखिन्छ। लाखौं लगानी गरेर लन्चिङ प्रोग्राम गर्ने ककटेल डिनर पार्टीहरु दिने गरेका संगीतकर्मीहरुलाई त्यतिका धेरै पैसा कहाँबाट आयो भन्ने प्रश्न पनि उठ्न थालेको छ।
पछिल्लो समयामा संगीतकर्मीहरु पाइरेसी बढेका कारण एल्बम बिक्री घटेको बताउँदै आएका छन्। केही संगीतकर्मीहरु त संगीतको बजार खस्केकोले संगीतमै लागेर बाँच्न गाह्रो छ पनि भनिरहेका छन्। अहिले संगीतलाई माया गर्नेहरु प्रविधिको विकाससँगै सिआरबिटी माध्यमलाई बढी प्रयोग गरेको देखिन्छ भने आफ्नो पेनड्राइभ आइपट लगायतका प्रविधिको प्रयोग गरेर संगीत सुन्ने गरेका कारण एल्बम सिडीहरु बिक्री हुन छाडेको अवस्था छ संगीतकार सन्तोष श्रेष्ठ भन्छन् – ुदैनिक रुपमा हुने एल्बम विमोचनको खर्च कहाँबाट गरिएको छ ु कोही संगीतकर्मी संगीतमा लागेर बाँच्नै गाह्रो परेको अवस्थामा लाखौं खर्च गरेर एउटा एल्बमको लन्चिङ कार्यक्रम हुनु आफैंमा अर्थपूर्ण छ श्रेष्ठ भन्छन्।
त्यसैगरी चलचित्र क्षेत्रका निर्माता निर्देशक नरेश पौड्याल चलचित्रले आफ्नो पि्रमियर गर्दा कुनैबेला लाखौं खर्च गथ्र्यो तर अहिले १५ हजार तिरेर पनि लन्चिङ प्रोग्राम गर्न नसकिरहेको अवस्थामा संगीतमा भएको यो लाखौं लगानीलाई अनौठो मानिरहेका छन्। अहिले चलचित्र उद्योग भन्दा पनि संगीत क्षेत्रमा कमाइ बढ्न थालेजस्तो छ नि पौड्यालले भने। दैनिक रुपमा लाखौं खर्चिएका प्रोग्रामहरु देखेर पत्रकार कृष्ण भट्टराई पनि संगीत क्षेत्रमा यत्रो लगानी कहाँबाट आउँछ अचम्म लाग्न थालेका छ। यो त सोच्नै नसकिने अवस्था सिर्जना भएको छ भन्दै थिए। वास्तवमा सबैले यस्तै यस्तै सोचिरहेको अवस्था छ अहिले संगीत क्षेत्रमा।
एउटा आधुनिक गीति संग्रह बजारमा ल्याउन सामान्य अढाइ लाखदेखि १० लाखसम्म खर्च रेकर्डिङ र म्युजिक भिडियोमा हुने गरेको देखिन्छ। त्यस्तै ३०-४० हजारदेखि ३-४ लाखको हाराहारीमा लिन्चिङ प्रोग्रामहरु हुने गरेको छ। आ-आफ्नो हैसियत अनुसार एल्बमका रेकर्डिङ र लन्चिङ प्रोग्रामहरु भइरहेका छन्। तर यसरी तयार पारिएको एल्बमहरु लन्चिङ समारोहमा उपस्थित सबैजनालाई एकएक वटा एल्बम बाँडिने गर्छ। त्यतिमात्र होइन म्यूजिक भिडियो बजाउनका लागि पनि उत्तिकै खर्च गरिएको हुन्छ।
यो अवस्था देखेर पनि उनीहरुलाई एल्बम बिक्रीबाट कति आम्दानी हुन्छ या हुँदैन। अथवा संगीतमा लगानी बालुवामा पानी त भइरहेको छैन भन्ने प्रश्न पनि उठिरहेको हुन्छ। हुन त यति धेरै लगानी गर्नेहरुको आम्दानीको पृष्ठभूमि गतिलै होला। उनीहरुले संगीतलाई व्यवसाय भन्दा पनि सोखका रुपमा वा कालो धनलाई सेतो बनाउने प्रयासमा लागि परेको पनि हुन सक्छन्। किनभने थोरै पूँजी भएकाले यत्रो ढाडस दिएर लन्चिङ समारोहको आयोजना गर्न सक्दैनन्। यदि देखाउनका लागि गरिहाले भने पनि उनीहरुको घर न घाटको अवस्था हुने पक्कै देखिन्छ। नेपाली चलचित्र उद्योगमा पनि ग्रहण लागिरहेकै अवस्थामा संगीत उद्योगमा देखिएको उज्यालोपनले सबैलाई हौसला मिले पनि संगीतबाट बाँच्न धौधौ परिरहेका संगीतकर्मीको हालत देखेर यस्ता लन्चिङ प्रोग्रामहरु सोचनीय विषय पनि बनिरहेको छ।
रहरमा संगीत सिर्जना गर्नु र व्यवसायी रुपमा संगीतलाई समर्पण गर्नु फरक कुरा हुन्। त्यसैले संगीतमा आएको बाढीले कसैलाई पनि नबढारोस् भन्ने हाम्रो चाहना हो।