कृष्ण न्यौपाने
दमौली,
तनहुँको ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय नगरी बन्दिपुर विश्वसम्पदा सूचीमा सूचीकृत हुने अन्तिम चरणमा पुगेको छ ।
बन्दिपुरलाई सूचीकृत गर्न हालैमात्र स्थानीय स्तरबाट प्रयास थालिएको हो । यसका लागि बन्दिपुरवासीले संस्कृति मन्त्रालयमार्फत फ्रान्सको पेरिसस्थित संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)को मुख्यालयमा निवेदन दिएका थिए ।
बन्दिपुर बजारमा रहेका बिजुलीका तार अन्डरग्राउन्ड वा भित्ताबाट लैजानुपर्ने युनेस्कोको सर्तपछि विद्युत् प्राधिकरणले त्यसबारे सर्भे गरिसकेको बन्दिपुर पर्यटन विकास समितिका सचिव काशी भट्टराईले बताए । “अन्य काम पनि अन्तिम चरणमा पुगेका छन्,” उनले भने, “अब छिट्टै बन्दिपुर विश्वसम्पदा सूचीमा सूचीकृत हुनेछ ।” विश्वसम्पदामा सूचीकृत भएपछि बन्दिपुरको पर्यटनले अझै फड्को मार्ने विश्वास उनको छ ।
बन्दिपुरमा २ सय वर्ष पुरानो भक्तपुरे नेवारी संस्कृतिमा आधारित घरहरू अझै पनि संरक्षित अवस्थामा छन् । बजार स्थापनाताका भक्तपुरबाट आएको नेवार समुदायले निर्माण गरेका ती कलात्मक घरले बन्दिुपरको ऐतिहासिकता झल्काए पनि समयक्रममा नयाँ घर थपिदै गएपछि लोप हुने अवस्थामा पुगेको स्थानीयको चिन्ता छ ।
यस्ता पुराना र ऐतिहासिक घरहरू संरक्षित अवस्थामै रहे पनि बढ्दो आधुनिकीकरणसँगै यसको अस्तित्व जोगाउन कठिनाइ पर्नसक्ने देखिएकाले विश्वसम्पदा सूचीका लागि पहल थालिएको स्थानीय ईश्वरगोपाल प्रधानले बताए ।
बन्दिपुरमा २ सय वर्ष पुराना नेवारी संस्कृतिमा आधारित घरका अतिरिक्त सोही समयमा निर्माण भएका प्राचीन मन्दिर, तत्कालीन बाइसे–चौबीसे राज्यबीचको युद्धका क्रममा प्रयोग भएका हतियार, धारा, पाटी, पौवालगायत अझै पनि सुरक्षित छन् ।