सप्तरी,
पुस १ - केही दिनयता बढेको अत्यधिक चिसोका कारण गएराति यहाँ एक विद्यार्थीको मृत्यु भएको छ ।
राजविराजस्थित छिन्नमस्ता एजुकेशनल एकेडेमीमा सब–ओभरसियरमा अध्ययनरत सिरहा गोविन्दपुर–५ खसरहा निवासी २१ वर्षीय प्रमोदकुमार चौधरीको चिसोका कारण मृत्यु भएको हो ।
राति खाना खाएर राजविराज नगरपालिका–५ स्थित डेरामा सुतेका प्रमोद राति २ बजेतिर अचानक चिसोका कारण कठ्याङ्ग्रिएर सिकिस्त भएपछि उपचारको लागि सगरमाथा अञ्चल अस्पताल राजविराज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक युवनारायण वैद्यले जानकारी दिए ।
राति अचानक चिसोले काम्न थालेपछि उपचारको लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको उनीसँगै बस्दै आएका सिरहा फुलकाहीकट्टी गाविस–५ निवासी २० वर्षीय रामनारायण चौधरीले बताएका छन् ।
मृतक प्रमोदको शव पोस्टमार्टमको लागि सगरमाथा अञ्चल अस्पताल राजविराजमा राखिएको छ ।
यता विगत केही दिनयता बढेको अत्यधिक चिसोका कारण सप्तरीको जनजीवन प्रभावित बनेको छ भने निमोनिया, ज्वरो खोकीका बिरामीको सङ्ख्या बढ्न थालेको छ ।
चिसोबाट सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा पीडित भएका छन् । रासस कान्तिपुर बाट साभार