Responsive Ad Slot

latest

जाहेरी दर्ता नगरेपछि प्रहरी कार्यालय घेराउI

Tuesday, December 20

/ by Admin BHOLA THAPA
तनहुँ,
पुस ५-प्रहरीले जाहेरी दर्ता गर्न नमाने पछि कास्कीको लेखनाथ-१ भण्डारढिकका बासिन्दाले मंगलबार जिल्ला प्रहरी कार्यालय तनहुँ घेराउ गरेका छन्। तनहुँको रिसिङ रानीपोखरी-९ रिसिङ पाटन बस्ने कृतिका गैह्रेलाई उनको परिवारले गत पुस २ गते घरमै कतर्व्य गरि हत्या गरेको आरोप लगाउँदै उनका माइती पक्षले मंगलबार प्रहरीमा जाहेरी दर्ता गराउन आएका थिए।


प्रहरीले घटना आत्महत्या भएको भन्दै जाहेरी लिन नमानेपछि उनीहरुले दिनभर कार्यालय घेराउ गरेका हुन्।
मृतक कृतिकाका बाबु टंकनाथ भण्डारीले छोरीका सुसुरा ऋषिराम गैरे, श्रीमान नारायण गैरे र अमाजु शोभा गैरेले छोरीको हत्या गरेको आरोप लगाउँदै कारबाहीका लागि प्रहरीमा जाहेरी दर्ता गराउन लागेका हुन्। सशस्त्र प्रहरीमा कार्यरत नारायणसँग कृतिकाले गत २०६७ फागुण २८ गते सामाजिक परम्पराअनुसार विवाह गरेका हुन्। गत असारदेखि छोरी ज्वाँईको सम्बन्ध राम्रो नभएको भण्डारीले बताए।
ज्वाँई र उनको परिवारले छोरीलाई मानसिक यातना दिँदै आएको भन्दै उनले घटना सुनियोजित भएको दाबी गरे। 'छिमेकीलाई मेरो घरतर्फ नआउनु भनेर दबाब दिएका रहेछन्।' उनले भने, 'लामो समयदेखि छोरीले घरमा मानसिक यातना खेप्दै आएकी रहिछन्।' मंसिर २९ गते घर आएका नारयणले आफू कार्यरत कार्यालयमा बिदा नमागीकनै भागेर घर आएको उनले दाबी गरे। 'घरमा आई बाबु-आमा र दिदीसँग छलफल गरी श्रीमतीको हत्याको योजना गरेको देखिन्छ।' उनले भने, 'छोरीको मृत्युपछि पनि हामीलाई कुनै खबर गरिएन्।' मंसिर २९ गते घर आएका नारायण पुस १ गते नै काममा फर्किएका थिए। पुस २ गते राति भिमाद प्रहरी चौकीले खबर गरेपछि मात्र आफूहरुले घटनाबारे जानकारी पाएको भण्डारीले बताए।
गैरे परिवारले भने मानसिक अवस्था कमजोर भएकी कृतिका पुस २ गते घरको कोठामा पासो लगाई आत्महत्या गरेको दाबी गर्दै आएका छन्। घरका सबै सदस्य काममा गएको समयमा बुहारीले कोठाभित्र पसी घाँटीमा पासो लगाएर आत्महत्या गरेको ऋषिराम गैरेले बताए। शवको सोमबार दमौली अस्पतालमा पोष्टमार्टम गर्दा आत्महत्या भएको रिर्पोट आएको अस्पतालले जनाएको छ। मृतकका आफन्तले जाहेरी दर्ता नगरेसम्म शव नउठाउने अडान लिएपछि सोमबारदेखि शव दमौली अस्पतालको शव गृहमा छ।
पोष्टमार्टम रिर्पोटमा प्रष्टसँग आत्महत्या भएको उल्लेख भएको हुँदा जाहेरी दर्ता नगरिएको प्रहरी नायब उपरीक्षक भीम सिलवालले बताए। 'जाहेरीलाई दरपिठमा राखेर कानुनी प्रकृया अगाडि बढाउन सकिन्छ।' उनले भने, 'पोष्टमार्टम रिर्पोटमा आत्महत्या भएको उल्लेख हुदाँ हुदै कसैविरुद्ध जाहेरी लिन मिल्दैन्।' दरपीठमा राखेपछि २ वर्ष सम्म घटनाको अनुसन्धान गरी घटना प्रमाणित भए कानुनअनुसार कारबाहीको प्रक्रिया चालाउन सकिने उनले बताए।
Don't Miss
© all rights reserved
made with by netKUTI