समुन्द्र पौडेल तनहूँ पुस १६ गते ।
दुई यातायात समिति बिचको विवादका कारण पृथ्वी राजमार्ग बस व्यवसायी समितिले शनिवार गण्डकी र नारायणी अंचलमा यातायात ठप्प पारेको छ । बिना सुचना यातायात व्यवसायीले यातायात ठप्प पार्दा यात्रुहरु अलपत्र परेका छन् ।
गोरखाका ग्रामिण भेगमा यातायात संचालन गर्ने विषयको विवादलाई लिएर गोरखा यातायात व्यवसायी समितिले बिहीबार गोरखाको ११ किलोमा पृथ्वी राजमार्गका ६ बस तोडफोड गरेपछि पृथ्वी राजमार्ग बस व्यवसायी समितिले शनिवार गण्डकी र नारायणी अंचलमा यातायात ठप्प पारेका हुन् । बस तोडफोडको घटना लगतै पृथ्वी राजमार्गका युवाहरुले बिहीबार राती नै गोरखा सदरमुकाममा रोकिराखेको गोरखा यातायातका ४ बसमा तोडफोड गरेका थिए ।
![]() |
दुई यातायत समिति बिचको विवादका कारण पृथ्वी राजमार्ग बस व्यवसायी समितिले शनिवार गण्डकी र नारायणी अंचलमा सार्वजनिक यातायात बन्द गरेपछि दमौलीमा रोकिएका बस र अलपत्र यात्रु पैदल हिड्दै । |
तनहुँको आँबुखैरेनी देखी गोरखा सदरमुकाम सहित गोरखाका ग्रामिण भेगमा यातायात संचालन गर्दै आएको गोरखा यातायात व्यवसायी समितिले पनि शुक्रबार देखी नै अनिश्चितकाल सम्मका लागि यातायात ठप्पको घोषणा गरेको छ ।
विगत लामो समयदेखी दुई यातायात व्यवसायी बिचको विवादलाई नेपाल यातायात व्यवसायी महासंघले समाधान गरेपनि पालना नहुदाँ दुई सातायता उनीहरुको विवाद चुलिएको हो । सहमती पश्चात पृथ्वी राजमार्गले रुट पर्मिट नलिएका बसलाई गोरखा पठाएपछि विवाद बढेको गोरखा यातायात व्यवसायी समितिका कोषाध्यक्ष नारायण खत्रीले बताए । दुबै यातायात व्यवसायी समितिले सार्वजनिक सवारी साधन ठप्प पार्न निर्देशन दिएपनि पृथ्वी राजमार्ग बस व्यवसायी समितिका कर्मचारीले भने दमौलीमा निजी सवारी साधनलाई समेत संचालनमा रोक लगाएका छन् ।
बिना सुचना यातायात व्यवसायीको विवादले राजमार्ग अबरुद्ध हुदाँ यात्रुहरु दमौलीमा अलपत्र परेका छन् । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईले शनिवार बजार बन्द गर्ने नियमका कारण बजार बन्द हुदाँ यात्रुहरुले खाना र खाद्यन्न खरिदका लागि समेत समस्या झेल्नुपरेको छ ।