माग पूरा नगरे बन्द यथावत्
कुलचन्द्र न्यौपाने
काठमाडौं, पुस ३ - कांग्रेसले बिघटित तरुण दलका चितवन अध्यक्ष शिवप्रसाद पौडेललाई सहिद घोषणा र उनीमाथि लगाइएको झुटा मुद्दा फिर्ता गर्न अल्टिमेटम दिएको छ ।
दिउँसो तीन बजेसम्मा अल्टिमेटम पूरा नगरे बन्द यथावत् राख्ने कांग्रेसको अडान छ । कांग्रेस नेताहरुले आइतबार प्रधानमन्त्री बाबुराम भट्टराईलाई सिंहदरबारमा भेट गरी माग पूरा गर्न दबाब दिएका थिए । कांग्रेसका अरु माग भने सरकारले पूरा गरिसकेको छ ।
कांग्रेसको मागमा प्रधानमन्त्री सकारात्मक भएको भेटमा सहभागी केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले जानकारी दिए । '१० हजार सहिदमा पौडेललाई थप्दा के हुन्छ भन्ने हाम्रो प्रश्न रहृयो,' केसीले भेटपछि ईकान्तिपुरसित भने, 'प्रधानमन्त्रीले सहिद शब्दकै दुरुपयोग भएको छ, छलफल गरी निर्णय गर्छौं भन्नुभएको छ ।' राज्यको नियन्त्रणमा रहेकाबेला हत्या भएकाले सहिद घोषणा गर्नुपर्ने तर्क कांग्रेसको छ ।
प्रधानमन्त्रीलाई भेट्न उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, खुमबहादुर खड्का, गगन थापा र केसी बालुवाटार गएका थिए । सरकारले माग पूरा नगरे दिउँसो तीन बजे सभापति सुशील कोइराला निवासमा पत्रकार सम्मेलन गरी आन्दोलनबारे धारणा सार्वजनिक गर्ने तयारी कांग्रेसको छ ।
सभापति सुशील कोइराला निवास महाराजगञ्जमा आइतबार बिहान बसेको बैठकले आन्दोलनबारे प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय गरेको थियो ।
तरुण दल चितवनका अध्यक्ष पौडेलको हत्या विरोधमा कांग्रेसले चार सुत्रीय माग गरी सोमबार नेपाल बन्दको आहृवान गरेको छ । कांग्रेसले, घटनाको छानविनको लागि न्यायिक आयोग गठन, दोषीहरुमागि कडा भन्दा कडा कानुनी कारबाही, जेलमा हत्या गरिएका तरुण नेता पौडेललाई सहिद घोषणा गरि क्षतिपूर्ति, पौडेल र प्रमिश राई लगायतका व्यक्तिहरु म्ााथिको झुटा अभियोग फिर्ताको माग गरेको छ ।
कांग्रेसका मागमध्ये शनिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्व न्यायाधीश मोहन सिटौलाको संयोजकत्वमा तीन सदस्यीय न्यायिक आयोग र परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय गरेको थियो ।
चितवन कारागारभित्र दुई साताअघि भएको आक्रमणमा घाइते चितवन तरुण दल अध्यक्ष शिवप्रसाद पौडेलको उपचारका क्रममा काठमाडौंस्थित न्युरो अस्पतालमा शनिबार बिहान मृत्यु भएको थियो । पौडेलमाथि मंसिर २० मा आक्रमण भएको थियो । उनी एमाले युवा हत्या आरोपमा कारागारमा थिए ।
घटनाको स्थानीय प्रशासन र प्रहरीकै संलग्नता रहेको भन्दै कांग्रेसले संसद् अवरुद्ध गरेपछि सरकारले तत्कालै गृह मन्त्रालयका सहसचिव शंकर कोइरालाको संयोजकत्वमा चार सदस्यीय छानबिन समितिसमेत बनाएको थियो । त्यस्तै सरकारले निमित्त प्रमुख जिल्ला अधिकारी नन्दीकेशर त्रिपाठी, चितवनका प्रहरी प्रमुख एसपी खिनुप्रसाद आचार्य, जेलर चूडामणि गौतम, कारागारका सई शिवप्रसाद छेत्रीलगायत चार सुरक्षाकर्मीलाई पनि निलम्बन गरेको थियो ।
कोइराला संयोजकत्वको समितिले घटनाबारे छानबिन गरिरहे पनि कर्मचारीको नेतृत्वमा बनेको समितिले निष्पक्ष प्रतिवेदन बनाउन नसक्ने भन्दै कांग्रेसले आयोग गठनको माग गर्दै आएको थियो ।
कांग्रेसले पनि घटना छानबिन गर्न महामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको छ । समितिमा केन्द्रीय सदस्यहरू बालकृष्ण खाँड, कृष्णचन्द्र नेपाली, चन्द्र भण्डारी र शंकर भण्डारी सदस्य छन् । साभार : इकान्तपुर डट कम