तनहुँ,मंसिर २८-'दुई घण्टादेखि कुर्दाकुर्दै बल्ल मन्त्री आए' पाचमुनी देव उच्च मावि दुलेगौंडामा ७ कक्षामा अध्ययनरत दिनेश थापाले भने 'नाम त थाहा छैन सरले त्यहाँ जाने भनेको भएर आएको ।' स्कुलमा पठनपाठन नै बन्द गराएर मन्त्रीको स्वागतका लागि ल्याएको उनले बताए । 'हाम्रो स्कुलको ६ देखि १० कक्षासम्मका विद्यार्थी आएका छन्' उनले भने '११ बजेदेखि कुरेको १ बजेमात्र आइपुगे ।'उनीजस्तै सयौ विद्यार्थी बुधबार तनहुँको ढोरफिर्दीमा जम्मा भएका थिए । तनहुँको दुलेगौंडा र ढोरफिर्दी जोड्ने सेतीनदीमाथिको मरेतरा झोलुङ्गे पुल उद्घाटन गर्न आएका स्थानीयविकास मन्त्री टोपबहादुर रायमाझीको स्वागतका लागि दुलेगौंडा र ढोरफिर्दीका दुई विद्यालयका विद्यार्थी त्यसरी जम्मा भएका हुन् ।
तालवेशी मावि ढोरफिर्दीमा कक्षा ९ मा अध्ययनरत सन्तोष गोदारले स्कुल बिदा गरेर मन्त्रीको स्वागतका लागि आएको बताए । 'शिशु कक्षा देखि १० सम्मका विद्यार्थी आएका छन्' उनले भने 'स्कुल बन्द गरेर आउँदा पठनपाठनमा बाधा पुग्यो ।मन्त्रीको स्वागतका लागि दुई विद्यालयका ५ सय भन्दा बढि विद्यार्थी ल्याइएको थियो । आयोजकले मन्त्रीको स्वागतका लागि विद्यार्थी ल्याउन आग्रह गरेपछि विद्यार्थी ल्याएको तालवेशी माविका प्रधानाध्यापक नवराज लामिछानेले बताए । 'हाम्रो विद्यालयको भवन निर्माण लागि ज्ञापनपत्र बुझाउने काम पनि थियो' उनले भने ।शब्द/तस्बिर : कृष्ण न्यौपाने