नवीनराज कुइँकेल
लमजुङ मंसिर २९-हिमालपारीको जिल्ला मनाङको बगरछाप गाविसको जंगलमा भिषण आगलागी भएको छ । बगरछाप गाविसको वडा नं. ५ स्थित क्युयार जंगलमा मंगलबार दिउसोदेखी लागेको आगो विहिबारसम्म पनि निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालय मनाङले जानकारी दिएको छ ।
निकै भिरालो भौगोलिक स्थान भएको र खडेरीका कारण हिँउ नपरेकाले आगो जंगलभरी फैलिएको प्रहरी नायव उपरिक्षक नवीनराज र्राईले जानकारी दिनुभयो । आगोलागी भएको खबर पाउने वित्तिकै सिमा प्रहरी चौकी कोतेबाट प्रहरी घटनास्थल पुगेपनि आगो नियन्त्रण गर्न नसकि फकिएको थियो ।
त्यसपछि बुधबार जिल्ला प्रहरी कार्यालय चामेबाट प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सीना र प्रहरी नायव उपरिक्षक नवीनराज र्राई सहित थप प्रहरी बल घटनास्थल गएपनि आगो नियन्त्रण लिन नसक्ने भएपछि त्यसै फर्किको थियो । भिरालो जमिन भएकाले आगोलागीबाट ढुङ्गा र रुखहरु झरेकाले फेदीबाटै आगो निभाउन जान नसकिएको प्रहरीले जनाएको छ ।
धुपी र सल्लाको बोटहरु रहेको सो जंगलको सयौं हेक्टर क्षेत्रफलसम्म आगो फैलिएको मनाङ चामेका विपि लामाले जानकारी दिनुभयो । उहँाले अब हिउँ नपरेसम्म आगो निभाउन नसकिने समेत बताउनुभयो । जंगल वरीपरि मानवबस्ती नभएकाले बढी जोखिम नभएपनि बनजंगलमा रहेका जीवजन्तु मारिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीले विहिबार दिनभर थप प्रहरीबल पठाएर आगो निभाउने प्रयास गरिने बताएको छ ।