सुमन बैरागी
काठमान्डौ,
काठमान्डौ,
मंसिर २४ -नेपाली चलचित्र उद्योगले जति आफूलाई वयस्क बनाउँदै लगिरहेको छ त्यति नै यस क्षेत्रमा पनि आकर्षित हुनेहरुको कमी छैन । यसो त संगीतको दायारा फराकिलो छ । चलचित्रभित्र मात्रै संगीत नखुम्चिएर यसले ठूलो रुप लिएको छ । अझ भन्ने नै हो भने चलचित्रभित्र संगीत भन्दा पनि चलचित्रका लागि संगीत भएको छ । यसै परिवेशमा एक संगीतकार भित्रिएकी छिन् रेखा पौडेल । सुगम संगीतको क्षेत्रमा होस् वा चलचित्र महिला संगीतकारहरुको यसै पनि कमी छ । यस्तैमा आएकी रेखा पौडेलले चलचित्रमा आफूलाई पहिलो नेपाली महिला संगीतकारको रुपमा दर् याएकी छिन् । नेपाली चलचित्रको इतिहासमा भलै उनी दोस्री बनेकी होलिन् तर नेपाली महिला संगीतकारको हिसाबमा चलचित्रमा उनी पहिलो बन्न सफल भएकी छिन् । यसअघि दार्जिलिङकी शान्ति ठटालले चलचित्र परालको आगोमा संगीत दिएकी भए पनि नेपाली मूलको हुँदाहुँदै भारतीय भएका कारणले रेखाले पहिलो महिला संगीतकार बन्ने अवसर पाएकी हुन् ।
रेखाले संगीतमा लागेको धेरै बर्ष त भएको छैन तर पनि रेखा यो अवधिलाई संघर्षको अवधि भन्न रुचाउँछिन् । ०६५ सालमा आकृति एल्बमका लागि दुई गीतमा उनले संगीत दिएकी थिइन् भने ०६७ सालमा अनुपम तथा ०६७ मै अलंकार नामक एल्बमहरुमा उनले सोलो संगीतकारको रुपमा संगीत सिर्जना गर्न पाएकी थिइन् । यसैले उनी आफूलाई ०६७ साल उर्वर संगीतको काल भन्न रुचाउँछिन् । सोही बर्ष उनले संघर्ष नामक एल्बममा बलिउडकी गायिका संजीवनीका लागि एक गीतको संगीत सिर्जना गरेकी थिइन् । अन्जु पन्त दीपक लिम्बु आनन्द कार्की माण्डवी त्रिपाठी अन्जना गुरुङ राजेशपायल राई जस्ता चल्तीका गायकगायिकाका लागि संगीत सिर्जना गरिसकेकी रेखाले चलचित्र फूलको संगीत गरेकी छिन् । कृष्णहरी बराल शिव रेग्मी दयाराम पाण्डे आदि गीतकारहरुका साथमा आफ्नै रचनामा उनले यस चलचित्रका लागि संगीत सिर्जना गरेको बताउँछिन् । संगीतको लगाव सँगसँगै यस क्षेत्रमा केही गर्छु भन्ने सोच राखेर भित्रिएकी रेखाले चलचित्र संगीतकारको रुपमा आउनका लागि मात्रै दुई बर्षको संघर्ष गर्नुपर् यो । निर्देशक शिव रेग्मीलाई भेटेर आफ्नो सिर्जना सुनाएपछि उनले दुई बर्षको अन्तरालमा रेखालाई संगीतकार लिएका थिए । चलचित्रको संगीत भन्दा सुगम संगीतको फराकिलो दायार भए पनि चलचित्रको संगीतले आफ्नो सिर्जनालाई छिटो प्रचार प्रसारमा ल्याउने विश्वास उनले गरेकी छिन् । अर्को चलचित्रमा कुरा भइरहेको भए पनि नेपालको वर्तमान अवस्थामा भनिहाल्न सकिने आधार नहुने भएकोले अनुबन्धित भएपछि मात्रै बताउने उनले बताइन् । रेखाले खासगरी आफ्नो पहिलो चलचित्र फूल चैतमा रिलिज भएपछि आफ्नो प्रतिभालाई अन्य निर्माता निर्देशकहरुले पनि चिन्ने र त्यसपछि आफू चलचित्रमा छाउने विश्वास पनि राख्छिन् ।
पारिवारिक माहौल नै संगीतको भएको कारणले यस क्षेत्रमा लगाव रहेको उनले बताइन् । आफ्नो बाबाले पनि संगीतमा केही समय बिताएका कारणले गर्दा यसको भविष्य उनलाई अझै उज्ज्वल लाग्छ । म परिस्थितिको सामना गर्न तयार छु तर म संगीतबाट टाढा भाग्दिनँ रेखा भन्छिन् । सायद मेरो भाग्य बलियो रहेछ क्यारे यसैले आजसम्म खाली हात बस्नुपरेको छैन र मैले पारिश्रमिक पनि पाइरहेको छु । आफ्ना एल्बमहरुका लागि आफूले कुनै लगानी गर्नु नपरेको पनि बताइन् । संगीत कम्पनीहरुको सहयोगको कारण आफू व्यस्त रहेको पनि उनको कथन थियो ।
रेखा संगीतकार मात्र नभएर संगीत गुरु पनि बनेकी छिन् । ग्रीनविज इन्टरनेशनल स्कुल जोसेफ इन्टरनेशनल स्कुल एवं जेनिथ इन्टरनेशनल स्कुलमा उनी विद्यार्थीहरुलाई संगीत सिकाउँछिन् भने अरु समय उनले आरोह संगीत प्रशिक्षण स्कुल खोलेर त्यसमार्फत पनि विभिन्न संगीत अनुरागीहरुलाई संगीत सिकाइरहेकी छिन् । हात्तीगौडामा रहेको जोसेफ इन्टरनेशनल स्कुलका पि्र_िन्सपल अमर तिमि_िल्सनालाई पनि उनको संगीतका लागि धेरै योगदान दिएको उनी भुल्न चाहन्नन् ।
०५९ सालमा चितवन महोत्सवमा आफ्नै संगीतमा आफ्नै स्वरले पहिलो हुने अवसर पाएपछि प्रेरणा मिलेको बताउने रेखा नेपाली संगीतको अवस्थाप्रति पनि सन्तुष्ट नै छिन् । आफू आफ्नो संगीतमा सधैं असन्तुष्ट रहने बताउने रेखा प्रगतिको लागि पनि यो आवश्यक रहेको बताउँछिन् । एउटै संगीतले सन्तुष्ट भइयो भने भोली के गर्ने उनी भन्छिन् । सुगम संगीत र चलचित्रको संगीतलाई साथ साथै लैजान चाहने रेखा आगामी दिनमा अझै आफूलाई तिखारेर अघि बढ्ने अठोट गर्छिन् ।
जे होस् चलचित्र फूल मार्फत चलचित्रमा पहिलो नेपाली महिला संगीतकार बनेर छिरेकी रेखाले आफूलाई पनि भोलीको अवस्थामा पहिलो नम्बरमै राख्न सकिन् भने मात्रै उनको अठोटले सार्थकता पाउन सक्नेछ भन्ने विश्वास लिन सकिन्छ