पर्सा पुस १६ गते ।
पर्सामा रहेका भूमाफिया र जिल्ला मालपोत कार्यालय पर्साका कर्मचारीहरूको मिलेमतोमा एक जीवित व्यक्तिलाई मृत घोषणा गरी उसको नाममा रहेको जग्गा अरुलाई नामसारी गरिएको खुलासा भएको छ । पर्साको महादेवपट्टी गाविस– ५ का स्थानीय बाबुलाल राउत अहिरलाई भूमाफियाहरूले २०६७ फागुन १ गते मरेको कागज बनाई जिल्ला मालपोत कार्यालय पर्साबाट २०६८ साउन १२ गते जग्गा पास गरिएको खुलासा भएको हो ।
अहिरकी नक्कली श्रीमतीको रूपमा लाल चुनिया अहिरिनलाई देखाई भूमाफियाहरूले सो गाविसमा रहेको तीन कित्ता जमिन उनको नाममा सारेको जिल्ला मातपोत कार्यालय पर्साको अभिलेखमा उल्लेख छ । हालै सो जग्गा आफूले बिक्री गर्न खोजेपछि आफ्नो नाउँको जग्गा अरुको नै भएको र आफूलाई मृत घोषणा गरेको पाएको पीडित अहिरले गुनासो गर्नुभयो ।
आफ्नो जग्गा बिक्री गर्न खोजेपछि मात्रै आफ्नो नाउँको जग्गा अरुकै नाउँमा भएको आफूले थाहा पाएको पनि जग्गाधनी अहिरले बताएका छन् । आफ्नो जग्गा पुनः आफ्नै नाउँमा बनाइदिन आफूले जिल्ला मालपोत कार्यालयमा लिखित निवेदन दिएको पनि पीडितले बताएका छन् ।