नारयण सापकोटा
काठमान्डौ मंसिर २२ यूरोपेली युनियनका प्रतिनिधिहरुले मानव अधिकार संरक्षण र अनुगमनको लागि नेपालमा स्थापित राष्ट्र संघीय मानव अधिकार उच्चायुक्त ओएचसीएचआर को म्याद थपका विषयमा पहल थालेका छन् । नेपालमा रहेको युरोपेली युनियनका राजदूतहरुले राजनीतिक भेटघाट सुरु गरेका छन् ।
नेपाली कांग्रेसका सभापति सुशील कोइरालासँग भेटी यूरोपेली युनियन अन्र्तगतका राजदूतहरुले मानवअधिकार उल्लघनका घटनामा कमि नआएकाले उच्चायुक्तको म्याद थप्न आग्रह गरेका छन् । नेपाली कांग्रेसका सभापति कोइरालाले त्यस विषयमा दलहरुबीचमा थप छलफल गर्ने आश्वासन दिनु भएको थियो ।
भेटमा सहभागी कांग्रेस नेता डाक्टर रामशरण महतले राजदूतहरुले एक पटकका लागि केही समय उच्चायुक्तको म्याद थपको आवश्यक औंल्याएको तर आफूहरुले दलहरुसँग छलफल गर्ने आश्वासन दिएको बताउनुभयो । छलफलमा संसदमा पेश भएको सत्य निरुपण तथा मेलमिलाप आयोग, वेपत्ताहरुको खोजविन सम्बन्धि आयोगको विधेयकका विषयमा राजदूप्तहरुले चासो राखेको महतले बताउनुभयो । महतका अनुसार सरकारले मानवअधिकार उल्लंघनका दोषिलाई पनि उन्मुक्ति दिन लागेका विषयमा उनीहरुले चिन्ता व्यक्त गरेका थिए ।