सेनाको हेलिकोप्टरबाट चितवन लगिने-
काठमाडौं, पुस ५- तीन दिनदेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रहेको नेपाल तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको शव आज नेपाली कङ्ग्रेसले बुझेको छ। कङ्ग्रेस सभापति सुशील कोइरालाले पौडेलको अस्पताल पुगेर शवमाथि पार्टीको झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जलि व्यक्त गरे।
मृतक पौडललाई सहिद घोषणा गर्नुपर्ने र पौडेलमाथि लगाइएका मुद्दा फिर्ता लिनुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, जेल सुरक्षार्थ तैनाथ सुरक्षा निकाय प्रमुखलाई कडा कारबाही गर्नुपर्ने भन्दै शव बुझ्न नमानेको कङ्ग्रेसले आफ्ना मागप्रति सरकारले देखाएको प्रतिबद्धतापछि आज शव बुझेको हो।
सो अवसरमा पार्टीका केन्द्रीय सदस्य, विभिन्न भ्रातृसंस्थाका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले पनि मृतक पौडेलप्रति अन्तिम श्रद्धाञ्जलि प्रकट गरेका थिए।
पौडेलको शवलाई अहिले केहीवेरमा नेपाली सेनाको हेलिकोप्टरबाट गृह जिल्ला चितवन लैजाने र आजै १२ बजेदेखि चितवनमा शवयात्रा गरी देवघाटमा अन्तिम संस्कार गरिने जानकारी केन्द्रीय सदस्य दीपक गिरीले दिए।
गत मङ्सिर २० गते विरोधी पक्षबाट जिल्ला कारागार चितवनमा भएको आक्रमणमा परी गम्भीर घाइते भएका पौडेललाई थप उपचारका लागि काठमाडौँको न्युरो अस्पताल भर्ना गरिएकोमा यही पुस २ गते बिहान निधन भएको थियो। रासस