काठमाडौ, २० मंसिर । उर्जामन्त्री पोष्टबहादुर बोगटीले २ सय मेघावाटको नयाँ डिजेल प्लान्ट जडान गर्ने र भारतबाट १ सय मेघावाट विद्यूत आयात गरेर सरकारले ५ घण्टामा लोडसेडिङ झार्ने योजनाका साथ काम गरिरहेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उर्जामन्त्री बोगटीले उर्जामन्त्रालयले २ सय र १ सय मेघावाटका दुई डिजेल प्लान्ट ल्याउने योजना बनाएको र त्यसलाई कार्यान्वयन गर्न आफूले मन्त्री परिषदमा प्रस्ताव लैजाने तयारी गरिरहेको जानकारी दिए । उनले नेपाल र भारतवीच विद्युत ब्यापार बढाउने ट्रान्समिसन लाईनको क्षमताको विस्तारको काम भईरहेको जानकारी दिदै मुजफ्फरपुर र बर्दिवास प्रशारण लाईन मर्मत पछि एक समय मेघावाट विद्युत आयात हुने बताए ।
क्लबका अध्यक्ष ऋषि धमालको सभापतित्वमा भएको साक्षात्कारमा उनले नयाँ डिजेल प्लान्ट ल्याउन र भारत बाट विद्यूत आयात गर्न नसके यसवर्ष पनि १६ देखि १८ घण्टासम्म लोडसेडिङ हुने बताए । उनले भने–भारतबाट एक सय मेघावाट विद्युत आयात भए १३ देखि १४, १ सय मेघावाटको प्लान्ट ल्याउन सके ७ देखि ८ र दुई सय मेघावाटको प्लान्ट ल्याउन सके ४ देखि ५ घण्टासम्म लोडसेडिङ झार्न सकिन्छ । उनले आजै विहान अर्थमन्त्री वर्षामान पुनःसँग प्लान्ट खरिदकोलागी बजेटको विषयमा छलफल भएको र छिट्टै प्रधानमन्त्री डा बाबुराम भट्टराई सँग कुरा गरेर टुङगोमा पुर्याउने बताए ।
उर्जामन्त्री वोगटीले भारतबाट विद्युत आयात गर्ने विषय टुङगो लागे पनि त्यसको प्रक्रियाको विषयमा विहीबार नेपाल भारत टेक्नीकल कमिटीको बैठक बसेर निर्णय गरिने जानकारी दिए । उनले जनवरीमा उर्जासंकट समाधानकोलागी मन्त्री स्तरीय बैठकको तयारी समेत भईरहेको बताए ।
उनले तत्कालकोलागी उर्जासंकट समाधान गर्न डिजेल प्लान्टमा जानुको विकल्प नरहेको भन्दै विराटनगर र हेटौडामा रहेको डिजेल प्लान्ट मर्मत कार्य सुरु गरेको छिट्टै ब्यवसायीहरुसँग छलफल गरेर सन्चालनमा ल्याउने जानकारी दिए ।
मध्य मस्र्याङदी जलविद्युत आयोजना मर्मतकालागी बन्द गर्नु परेकोले दिनको ६ घण्टा लोडसेडिङ गर्नु परेको बाध्यता सुनाउँदै उनले मर्मत पछि लोडसेडिङ केही कम हुने बताए । उनले सुख्खा याममा लोडसेडिङ बढ्न नदिन कुलेखानी परियोजना अहिले सन्चालन नगरिएको समेत दावी गरे ।
विद्युत महसुल बढाउनु अत्यावश्यक भईसकेको दावी गर्दै मन्त्री बोगटीले लोडसेडिङलाई ४–५ घण्टामा झारेर विद्युत महसुल बढाउने आफ्नो योजना सुनाए । उनले भने–प्राधिकरणलाई अहिले प्रति यूनिट २ देखि ३ रुपैया घाटा छ । यसरी लामो समयसम्म प्राधिकरण चल्न सक्ने अवस्था छैन । त्यसैले महसुल बढाउनै पर्छ ।
नेपालमा दिर्घकालिन रुपमा लोडसेडिङको समस्या समाधानकोलागी ठूला स्टोरेज प्रोजेक्टमा निर्माण गर्नुको विकल्प नरहेको दावी गर्दै त्यसो नगरेसम्म नेपालको लोडसेडिङ समस्याको समाधान नहुने बताए ।
उनले यसअघिका मन्त्रीहरुले अलोकप्रिय हुने डरले महसुल बढाउने विषयमा निर्णय लिन नसकेको आरोप लगाउँदै अप्रिय भए पनि आफूले त्यस्तो निर्णय गर्ने स्पष्ट पारे ।
प्रधानमन्त्री डा बाबुराम भट्टराईकै नेतृत्वमा शान्ति प्रक्रिया अगाडि बढेकोले आफूहरुले राष्ट्रिय सहमतिकोलागी उहाँकै नेतृत्व प्रस्ताव गरेको भन्दै शान्ति प्रक्रिया निष्कर्समा पुर्याएर नयाँ संविधान जारी गरेपछि मात्रै अर्को सरकार गठन हुनु पर्ने धारणा राखे ।
सरकार अझै केही समय सम्म यथावतै रहने दावी गर्दै काग्रेस अहिलेनै सरकार परिवर्तनको पक्षमा नरहेको पनि सरकार परिवर्तन नहुने बताए ।
उनले एकीकत नेकपा माओवादी भित्रको आन्तरिक द्धन्द्धले जारी शान्ति र संविधान निर्माण प्रक्रियामा कुनै प्रभाव नपर्ने दावी समेत गरे ।