सुबास लामिछाने,
चितवन कार्तिक १५-चितवनको भरतपुर ४ आनन्दमार्ग स्थित दन्तकाली पशुपति किराना भण्डारमा गएरातिदेखि लागेको आगो झन्डै साढे १० घण्टापछि नियन्त्रणमा आएको छ । स्थानिय दिनेश राठीको गोदाम भण्डारमा राति ११ बजेदेखि सुरु भएको आगलागी बिहान साढे ९ बजेपछि नियन्त्रणमा आएको हो ।
वीरगन्ज उपमहानगरपालिकाको दुई वटा, हेटौडा र भरतपुर नगरपालिकाका एक एक वटा वारुणयन्त्रको सहयोगमा सशस्त्र र नेपाल प्रहरी तथा स्थानियबासिन्दाले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगलागीबाट दाल, चामल, तेल, चना, केराउ र भटमास जस्ता खाद्यान्न जल्दा चार करोडभन्दा बढि बराबरको क्षति भएको गोदाम सन्चालक राठीले बताएका छन् । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
आगलागीका कारण राठीका छिमेकीको दुई घरमा समेत सामान्य क्षति पुगेको छ । गोदाममा कोही पनि मानिस नबसेको र घटना लगत्तै वरपरका मानिसहरुलाई समेत खबर गरिएकाले कुनै पनि मानवीय क्षति नभएको प्रहरीले बताएको छ ।