तनहुँ खबर संवाददाता
तनहुँ कार्तिक २५
डुम्रे बेसीसहर सडकखण्डअन्तर्गत तनहुँको भानु गाविसको खहरेमा बिहीबार बेलुका भएको बस दुर्घटनामा बालकको मृत्यु भएको विरोधमा स्थानीय बासिन्दाले शुक्रबार बिहानदेखि अवरुद्ध पारेको डुम्रे- बेसीसहर सडक पाँच घण्टापछि सुचारु भएको छ । बिहीबार बेलुका ना३प ५३३० नम्बरको बसको ठक्करले स्थानीय भानु- १ खहरेका ११ वर्षीय विकास गुरुङको मृत्यु भएको विरोधमा स्थानीयले शुक्रबार ९ बजेबाट अवरुद्ध बनाएको सडक दिउँसो २ बजेबाट सुचारु भएको हो ।
स्थानीय बासिन्दाले बसको ठक्करबाट घाइते भएका बालक गुरुङलाई फेरि बस व्याक गरेर किचेर हत्या गरेको भन्दै पीडकलाई कडा कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै सडक अवरुद्ध पारेका थिए । आक्रोशित स्थानीय बासिन्दाले बिहीबार बेलुकादेखि नै यातायात बन्द गरेकोमा प्रहरीले राति बल प्रयोग गरी सडक खुलाएको थियो । बल प्रयोगका क्रममा प्रहरीले तीन राउण्ड अश्रुग्यास समेत छोडेको थियॊ ।