Responsive Ad Slot

latest

सत्ताको छटपटीले ढुंगेल प्रकरण उचालियोः प्रधानमन्त्री

Tuesday, November 15

/ by Krishna Neupane
जम्बो मन्त्रिमण्डल बनाउनु बाध्यता
२९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तामा नपाएर कांग्रेस र एमालेले मन्त्रिपरिषद् विस्तार र बालकृष्ण ढुंगलको आममाफीको विषय चर्काएको आरोप लगाउनुभएको छ । माओवादी र मधेसवादी मिलेपछि कुनै हालतमा सरकार नढल्ने भएपछि कांग्रेस र एमाले आत्तिएको भन्दै उहाँले भन्नुभयो-’भित्री यथार्थ भनेको कांग्रेस र एमाले तर्सिए, मधेसवादीसँग एलाइन्स बनाएर गइहाल्यो भने त जति गर्दा पनि सत्तामा आउन नआइने भो भन्ने आक्रोस हो ।’

मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री भट्टराईले पछिल्लो दुई महिना सत्ता बाहिर रहनु पर्दा एमाले ‘पानी विनाको माछो झै भएको’ टिप्पणी थियो । ‘एमालेले जति चर्का कुरा गरेपनि यो सत्तामा आउन नपाएको छटपटी हो’ ज्ञानेन्द्रको सरकार छँदा त आध प्रतिगमन सच्चियो भनेर सरकारमा गएको एमाले २० वर्षदेखि सत्ता बाहिर नरहेको स्मरण गराउँदै उहाँले भन्नुभयो-’सत्ता बाहिर बस्दा पानीमा रहेको माछो बाहिर आउँदा जसरी छटपटिन्छ एमालेमा त्यो छटपटाहट छ ।’

प्रधानमन्त्री डा. भट्टराईले पछिल्लो भेटमा आफूले शान्ति प्रक्रिया अघि बढेसँगै १४ मंसिरको आसपासमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने कांग्रेस-एमालेलाई आश्वस्त पारेको समेत जानकारी दिनुभयो । उहाँले भन्नुभयो-’मैले उहाँहरुलाई भनेको छु तपाईहरु चिन्ता नगर्नुस् । सरकारमा आउनुहोस् । शान्ति प्रक्रिया अघि बढ्छ, राष्ट्रिय सहमतिको सरकार बन्छ । तपाईहरुको ढोका बन्द भएको छैन ।’ ठूला पार्टीलाई बाहिर राख्ने पक्षमा नरहेको भन्दै उहाँले शान्ति र संविधान निर्माण प्रक्रिया पूरा नभएसम्म आफ्नो सरकार रहने र आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार बन्ने बताउनुभयो ।

प्रधानमन्त्री भट्टराईले राष्ट्रिय सहमतिको सरकार नबन्दासम्म वर्तमान गठवन्धनलाई टिकाई राख्न मधेसवादी दलहरुको मागअनुसार मन्त्री नियुक्त गर्नु आफ्नो बाध्यता भएको स्पष्टिकरण दिनुभयो । ‘मधेसी मोर्चा जो सँग ७० सिट छ त्यो भत्किने वित्तिकै त बहुमत नै पुग्दैन’ उहाँले भन्नुभयो-’जवसम्म राष्ट्रिय सरकार बन्दैन, कांग्रेस र एमाले सरकारमा आउँदैन त्यसबेलासम्म त उनीहरुलाई लिनु पर्ने वाध्यतै छ ।’ तपाईको पार्टीबाट राज्यमन्त्रीहरु नियुक्ति नगरेको भए जम्बो हुँदैन थियो नि भन्ने प्रश्नमा भट्टराईले समावेशी र क्षेत्रीय अनुपात मिलाउनका लागि त्यसो गर्नुपरेको बताउनु भयो । उहाँले सरकारमा पनि नआउने अनि समावेशी भएन भनेर विरोध गरेर बैद्य पक्षले ‘हलो अड्काएर गोरु चुट्ने’ प्रवृति देखाएको बताउनु भयो । सरकारलाई अस्थिर बनाउने कि शान्ति र संविधानलाई अघि बढाउने भन्ने दुई विकल्प मात्र आफूसँग रहेको भन्दै उहाँले आफ्नो व्यक्तिगत छवीलाई नै दाऊमा राखेर शान्ति र संविधानको लागि जम्बो मन्त्रिपरिषद् बनाउनुपरेको बताउनुभयो । उहाँले आफू अहिले पनि २० जनाभन्दा बढी मन्त्री हुनुहुन्न भन्ने पक्षमा रहेको प्रष्ट पार्नुभयो ।

मापदण्ड शान्ति र संविधान

प्रधानमन्त्रीले आफ्नो सरकारको मूल्यांकन शान्ति र संविधान बन्यो कि बनेन भनेर गर्नु पर्ने भन्दै भन्नुभयो-’यो सरकारलाई नाप्ने मापदण्ड शान्ति र संविधान नै हो । प्रधानमन्त्री भएको दिनदेखि नै मैले आफ्नो लक्ष्य र गन्तव्य शान्ति र संविधान भन्दै आएको हुँ । यो पूरा हुँदा देश र जनाको भलो हुन्छ ।’ समय सन्दर्भ भन्दा बाहिरका विषयलाई मापदण्ड बनाईयो भने मूल्याँकन गर्न गाह्रो हुने उहाँको भनाई छ । प्रधानमन्त्री भट्टराईले सात बुँदे सहमतिमार्फत शान्ति र संविधानको कामलाई टुंगोमा पुर्याउने आधार तय भएको बताउनु भयो ।

ढुंगेल प्रकरण अनावश्यक

सर्वोच्चले फैसला सुनाइसकेको अवस्थामा ढुंगेललाई आममाफीको विकल्प नभएको भन्दै प्रधानमन्त्री भट्टराईले दलहरुले यसलाई अनावश्यक ढंगले उचालेको बताउनु भयो । उहाँले भन्नुभयो-’ढुंगेल प्रकरणलाई जुन ढंगले उचालिंदैछ यो चाहिं मलाई अचम्म लागिरहेको छ ।’ ढुंगेलको मुद्धा फिर्ता प्रकृया माधव नेपालको पालामा शुरु भएको र झलनाथ खनालको पालामा फाईल अघि बढेको भन्दै उहाँले आफूले निर्णय गर्दा राष्ट्रपति लगायतसँग समेत परामर्श गरेको संकेत गर्नुभयो । सबैलाई मुद्दा लाउने भन्ने हो भने शान्ति र मेलमिलाप कसरी हुन्छ ? भन्दै भट्टराईले भन्नुयो-’माओवादी एक चौथाई दोषी हुँदा तीन चौथाई त अरु दोषी ठहरिन्छन् ।’ राज्यविरुद्धको विद्रोह गर्नेहरुविरुद्ध राजनीतिक मुद्धा नलाग्ने भन्दै उहाँले नेमकिपा अध्यक्ष नारायणमाण विजेक्छेविरुद्धको हत्या तथा गिरिजाप्रसाद कोइरालाको डकैती मुद्धालाई राजनीतिक भनेर फिर्ता लिएको स्मरण गराउनु भयो ।

चलखेल गरे मन्त्रीलाई पनि कारवाही

प्रधनमन्त्री भट्टराईले मन्त्रीहरुले अनियमितता र भ्रष्टाचार गर्लान् की भन्नेमा आफू समेत रहेको बताउनु भयो । कुनै मन्त्रीले अनियमितता र भ्रष्टाचार गरेको पाए सप्रमाण आफ कहाँ आउन आग्रह गर्दै उहाँले तत्काल पदमुक्त गर्ने प्रष्ट पार्नुभयो । ‘मन्त्रीहरुले अनियमितता र भ्रष्टाचार गर्लान् की भन्ने जुन चिन्ता छ, यसमा त म निकै सचेत छु’ उहाँले भन्नुभयो-’जसले गर्छ, उसलाई तुरुन्त कार्वाही हुन्छ । तथ्यसहित कोही भ्रष्टाचारमा संलग्न रहेको भेटियो भने म निकालिदिन्छु । यसमा त विवाद नै छैन ।’

सुरक्षा अधिकारीहरुको सरुवा तथा बढुवामा चलखेल भएको भन्नेबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री भट्टराईले कार्यक्षमतालाई आधारमा मन्दा दोश्रो, तेस्रो नम्बरमा रहेका अधिकारीहरुको बढुवा गर्नु परेको प्रष्ट पार्नुभयो । उहाँले त्यसमा अनियमिता भएको प्रमाण भए लिने र दिने दुवैलाई कारवाही पर्ने बताउनु भयो ।

बिदेशीको बल

प्रधानमन्त्री भट्टराईले आफ्नो विदेश भ्रमण अन्तर्राष्ट्रिय शक्ति सन्तुलन मिलाउन भएको प्रष्ट पार्नुभयो । शान्ति र संविधान निर्माण प्रकृया अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमै निर्भर रहने भन्दै उहाँले भन्नुभयो । ‘उचित ढंगले अन्तर्राष्ट्रिय शक्ति सन्तुलन मिलाएर जान सकिएन भने तपाई हामीले जतिसुकै आदर्शका कुरा गरेपनि त्यो व्यवहारिक बन्दैन’ उहाँले भन्नुभयो-’उहाँ अन्तर्राष्ट्रिय शक्तिहरुलाई व्यालेन्समा राख्न सकिएन भने यहाँ जतिसुकै गरेपनि भाडि्दहाल्छन् । उनीहरुको पहुँच कतिसम्म छ भन्ने त तपाईहरुलाई राम्रो थाहै छ ।’ उहाँले नेपालको शान्ति प्रक्रियाको सफलता अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा भर पर्ने भन्दै प्रधानमन्त्री भट्टराईले चीन र भारतका प्रधानमन्त्रीले नेपाल भ्रमण गराउने आफ्नो पहल भइरहेको बताउनु भयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI