काठमाडौं, कार्तिक २८ - गृहमन्त्रालयले सहसचिव तथा केही प्रमुख जिल्ला अधिकारीहरुको काज सरुवा गरेको छ । गृहमन्त्री विजयकुमार गच्छदारले सोमबार १६ सहसचिवहरुको सरुवा गरेका हुन् । गृहमन्त्रालय शान्ति सुरक्षा महाशाखाका सहसचिब सुधीरकुमार शाहलाई अध्यागमन विभागको महानिर्देशकमा काज सरुवा गरिएको छ ।
योजना तथा बिशेष सेवा महाशाखाका शंकरप्रसाद कोइरालालाई शान्ति सुरक्षा महाशाखामा लगिएको छ । कोइरालाले मन्त्रालय प्रवक्ताको जिम्मेवारी समेत सम्हाल्नेछन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद ढकाललाई गृहमन्त्रालय तानिएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी रत्नराज पाण्डे काठमाडौंमा आएका छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीका चुडामणि शर्मा ललितपुर जिल्ला प्रशासनमा ल्याइएका छन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारीलाई गृहमन्त्रालय कर्मचारी प्रशासन महाशाखामा सारिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी तारानाथ रुगौतमलाई जिल्ला प्रशासन कार्यालय मोरङ पठाइएको छ ।
लक्ष्मणकुमार थापालाई रुपन्देहीबाट सुनसरी प्रशासनमा पठाएको छ । वसन्तकुमार गौतमलाई चितवनबाट रुपन्देही, बुद्धिबहादुर खडका क्षेत्रिय प्रशासन सुर्खेतबाट चितवनमा प्रमुख जिल्ला अधिकारी, कुमार श्रेष्ठलाई धनकुटा प्रशासनबाट गृह मन्त्रालय, खडगबहादुर चापागाईँलाई क्षेत्रिय प्रशासन धनकुटाबाट धनकुटाकै प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ ।
अध्यगमन विभागका महानिर्देशक जन्मजय रेग्मीलाई गृह मन्त्रालयमा तानेको छ । त्यस्तै गृह मन्त्रालयम रहेका मोहनकृष्ण सापकोटालाई कारागार व्यवस्थापन विभाग कालिकास्थान सरुवा गरिएको छ ।
दुर्गाप्रसाद भण्डारीलाई कारागार व्यवस्थापन विभागबाट कास्कीका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ । कास्कीका प्रजिअ रहेका शम्भु कोइरालालाई पर्सा पठाइएको छ ।