काठमाडौ,
कार्तिक २८-शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सहमति जुटाउन सद्भावना सभासद् लक्ष्मणलाल कर्णको संयोजकत्वमा गठित कार्यदलले विभिन्न विकल्पसहित आफ्नो प्रतिवेदन उपसमितिमा पेश गरेको छ । संविधानसभा सचिवालय सिंहदरवारमा आज बसेको संवैधानिक समिति अन्तर्गत गठित विवाद समाधान उपसमिति बैठकमा कार्यदलले प्रतिवेदन पेश गरेको हो ।
कार्यदलको प्रतिवेदनमाथि आज कुनै छलफल नभएकाले बैठक बिना निष्कर्ष सकिएको र आउने मङसिर १ गतेदेखि छलफल सुरु गरिने उपसमिति संयोजक माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिनुभयो । उपसमितिका सदस्यहरुले कार्यदलले पेश गरेको प्रस्ताव गोप्य राख्ने सहमति भएको भन्दै थप कुरा बताउन मानेनन् । काङ्गे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले अहिलेसम्म कुनै विषयमा सहमति नभएको दावी गर्दै संचारमाध्यममा आएका भनाइ गलत भएको बताउनुभयो ।
संसदीय व्यवस्थाप्रति काङ्गे्रसको अडान यथावत रहेको उहाँले उल्लेख गर्नुभयो ।कार्यदलका संयोजक लक्ष्मणलाल कर्णले राष्ट्रपतीय प्रणाली, प्रधानमन्त्रीय प्रणाली, संसदीय प्रणाली र मिश्रित प्रणालीका रामा÷नराम्रा पक्षबारे सुझाव पेश गरेको बताउनुभयो । कार्यदललाई निर्णय गर्ने अधिकार नदिइएका कारण कुनै निर्णयमा नपुगि सुझाव मात्र पेश गरिएकोले राजनीतिक सहमतिका आधारमा उपसमिति निर्णयमा पुग्ने कर्णले बताउनुभयो ।