काठमाडौं, मंसिर १- संविधानसभा म्याद थप सम्बन्धी फैसला सर्वोच्च अदालतले मंसिर ८ गते सुनाउने भएको छ। प्रधानन्यायाधीश खिलराज रेग्मी, न्यायाधीश दामोदर शर्मा, रामकुमारप्रसाद साह, कल्याण श्रेष्ठ र प्रेम शर्माको पूर्ण इजलासमा संविधानसभा म्यादसम्बन्धमा दुवै पक्षको बहस सकिएको छ।
अधिवक्ता बालकृष्ण न्यौपाने र भरतमणि जंगमले अन्तरिम संविधान २०६३ को दसौं संशोधन गरी संविधानसभाको कार्यकाल तीन महिना थप्ने निर्णय बदर गर्न माग गर्दै असोज ५ मा रिट दायर गरेका हुन्।
रिटमा भदौ १४ मा संविधानसभाको कार्यकाल पुनः तीन महिना थपी २०६८ मंसिर १४ सम्म बढाउनु पूर्ण असंवैधानिक, गैरकानुनी र अदालतको मार्गनिर्देशनविपरीत भएको दाबी गरिएको छ।
रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री बाबुराम भट्टराईलगायतलाई विपक्षी बनाइएको छ। ( नागरिक)