Responsive Ad Slot

latest

गीतसङ्ग्रह 'थोपा-थोपा​' को लागि गीतकार डा. कृष्णहरि बरालका शब्दहरु

Thursday, November 17

/ by Masti Entertainment

  • थोपा थुङ्गा बन्दा रहेछन् - डा. कृष्णहरि बराल


फूलको कोमलता गीत बनेको हामीले देखेका छौँ जूनको शीतलता तथा हावाको चंचलता गीत बनेको पनि अनुभव गरेका छौँ । तर गलाउन सके ढुङ्गाको कठोरता पनि कोमल गीत बन्ने रहेछ । मैले यो कुरा सुनिल सङ्गमको प्रस्तुत गीत सङ्ग्रह 'थोपा थोपा' का गीतहरु पढेर थाहा पाएँ । सुनिलका गीतहरुमा प्रेमका कोमलता भन्दा कोमल परागहरु त अटाएकै छन् र मायाको सुवास त फैलिएकै छ त्यो भन्दा पर आक्रोशका छर्राहरु पनि उत्तिकै सशक्त रुपमा छरिएका छन् ।

यस सङ्ग्रहका कतिपय गीतहरुमा स्वर्गैबाट ओर्ले जस्ती सुन्दरीको चित्र भेटिन्छ मन पराउन थाल्दाको संवेदनशील अवस्थाको मनोविज्ञान भेटिन्छ र मन पराईसके पछि सहवासको अवस्थाको चरम सन्दर्भ पनि भेटिन्छ । यी त संयोगका अवस्थाका कुराहरु भए सुनिलले त आफ्नी भनाउँदीले चटक्क बिर्सिदिएकीले रातभरि उनैलाई सम्झनु परेको त्यही यादका कारण पिउने लत बसेको तथा जिन्दगी नै छट्पटीमा रुपान्तरित भएको सन्दर्भ पनि उल्लेख गरेका छन् । यस्तै सुनिलको माया प्रेम व्यक्ति सन्दर्भबाट अगाडि बढेर देशै भरि पनि फैलिएको छ । सुनिललाई मुटुको भन्दा माटोको बढि माया लाग्दोरहेछ अनि खुट्टाको भन्दा बाटोको माया लाग्दोरहेछ । विदेशमा बस्नु पर्दाको सुख भन्दा गाउँघरको न्यास्रो लागेर सुनिल दिनरात गीतको सिरानी हालेर रुँदा रहेछन् । अनि उनी चाँडै आफ्नो स्वदेश फर्कने वाचा पनि गर्दारहेछन् । सायद 'थोपा थोपा ' शीर्षक यस्तै वेदनाहरुको प्रतिकात्मक रुप हो ।

सुनिलका गीतमा घर छाडेर पराईको घर जानुपर्ने छोरीको पीडा पनि छ । उकालो काटेपछि लौरो बिस्रने बैगुनीको निष्ठूर हृदय पनि छ । आफन्तलाई रुवाएर पराईसँग रमाउनेको दर्द पनि छ र सम्पत्ति नहुनेहरुका लागि दशैँ तिहार दशा बन्छन् भन्ने संकेतक पनि छ । अझ 'तेरा लागि मर्छु' भन्नेहरु नै कसरी मार्न झम्टन्छन् भन्ने तीतो सत्यलाई पनि उनले आफ्नो गीतको कथ्य बनाएका छन् भने राम्रो नराम्रो वास्तै नगरी ज्यान लिने काल प्रति आक्रामक देखिन्छन् ।

मृत्यु तँलाई म श्राप दिन्छु तँ पनि मरिजा
मरेर पनि शान्ति नमिलोस् नर्कैमा परिजा

शीर्षक पानीसँग सम्बन्धीत भए पनि सङ्गीतको ज्ञान पनि उत्तिकै राख्ने सुनिल सङ्गमको प्रस्तुत गीत सङ्ग्रह नेपाली गीति फाँटका लागि एउटा सुन्दर बगैँचा हुनेछ भन्ने कुरामा म पूर्ण विश्वस्त छु र एक पटक यस मनोरम बगैँचामा डुलिदिनु हुन आग्रह गर्दछु ।
Don't Miss
© all rights reserved
made with by netKUTI