Responsive Ad Slot

latest

दार्शनिक प्रवचन सुरु

Saturday, November 12

/ by Krishna Neupane

तनहुँ खबर संवाददाता
तनहुँ कार्तिक २६
राधा माधव समिति नेपालको आयोजना र आध्यात्मिक प्रवचन समिति दमौलीको व्यवस्थापनमा शुक्रबार देखी दमौलीमा दार्शनिक प्रवचन सुरु भएको छ । मानव समुदायमा आध्यात्मिक चिन्तन विकाश गर्ने उद्देश्यले गरिएको सो कार्यक्रममा जगद्गुरु कृपालुजी महाराजका प्रचारक स्वामी हरिदासले प्रवचन दिएका छन् ।


मंसिर ५ गतेसम्म हुने सो प्रवचनमा कुनै पनि जात धर्म समाज वा सम्प्रदायका मानिस सहभागी हुन सक्ने प्रचारप्रसार संयोजक शंकरलाल राजभण्डारीले बताए । प्रवचन जिल्ला सभागृह हल दमौलीमा निशुल्क रुपमा साँझ ४ बजेदेखि ५ः३० बजेसम्म साचालन हुनेछ । प्रवचन स्थल जिल्ला सभागृह र त्यसको बाहिर शुक्रबार स्वामी हरिदासको प्रवचन सुन्न र हेर्न सयौं भक्तजनहरु उपस्थित थिए । सभागृह हलमा नअटेका भक्तजनहरुलाई बाहिर चौरमा दुई तिर ठूला-ठूला टेलिभिजनको माध्यमबाट प्रवचन प्रत्यक्ष हेर्न र सुन्ने व्यवस्था मिलाईएको छ ।


यसैबीच प्रवचनको शुभारम्भ गर्दै प्रवचक स्वामी हरिदासले आध्यात्मबाद पनि एउटा विज्ञान भएको बताए । प्रवचन एक दर्शन भएको हुँदा यसको माध्यमबाट पनि समाज परिवर्तन गर्न सकिने स्वामी हरिदासको भनाई थियो । आफ्नो प्रवचन कुनै धन आर्जन गर्न नभएको प्रष्ट्याउँदै उनले भागवत कथाको वाचनबाट धन आर्जन गर्नु नराम्रो कार्य भएको बताए । वेदव्यासको जन्म स्थल भएको हुँदा दमौली पवित्र स्थान भएको भन्दै स्वामी हरिदासले वेदव्यास भगवानको अवतार भएको र व्यासले भागवत गीताको अनुभव गरेर वेदको रचना गरेको बताए । विश्वका सबैभन्दा ठूलो ग्रन्थ भागवत भएको समेत उनको दावी थियो ।

यस अघि प्रवचन दिन आएका स्वामी हरिदासलाई प्रवचन स्थल जिल्ला सभागृहमा प्रवचन व्यवस्थापक समितिका संयोजक शान्तिरमण वाग्ले प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पौडेल प्रहरी नायव उपरिक्षक गौतमराज कट्टेल प्रचार प्रसार समितिका संयोजक शंकरलाल राजभण्डारी सचिव खेमराज अधिकारी दलित आयोगका सदस्य दोवाटे विक तनहँु उद्योग वाणिज्य संघका अध्यक्ष मोहनकुमार विक लगायतले पुष्प गुच्छाद्वारा स्वागत गरेका थिए । यसअघि बिहान दमौली बजारमा भक्तजनहरुले प्रभातफेरी निकालेका थिए ।
Don't Miss
© all rights reserved
made with by netKUTI