सिन्धुपाल्चोक,
कार्तिक ३०-औलो रोग नियन्त्रणका लागि सिन्धुपाल्चोक जिल्लाको नौ गाविसमा २७ हजार विषादी युक्त सुपानेट झुल वितरण गरिने भएको छ । ग्लोबल फन्डको आर्थिक सहयोग तथा पपुलेन्स सर्भिस इन्टनेशनलको समन्वयमा जिल्ला रेडक्रस शाखा सिन्धुपाल्चोकले झुल वितरण गर्न लागेको हो ।
रेडक्रस कार्यालयले औलो रोगका हिसाबले उच्च जोखिममा रहेका गाविसहरूको छनौट गरी प्रत्येक गाविस र वडाहरूमा स्थानीय राजनीतिक दल, सामाजिक संस्थाका प्रतिनिधिहरूको सहभागितामा झुल व्यवस्थापन समिति गठनको प्रक्रियालाई अगाडि बढाएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको औलो रोग रोकथाम तथा न्यूनिकरण कार्यक्रम अन्तर्गत जिल्लाको शिखपुर, सिपापोखरे, बाँसबारी, फड्कशिला, बाडेगाउँ, भिमटार, भोटसिपा, ठूलोसिरुबारी र साँगाचोक गाविसमा ५ महिनाभित्र झुल वितरण गर्ने गरी आवश्यक तयारी भइरहेको रेडक्रस शाखा सिन्धुपाल्चोकका मन्त्री कमल कक्षपतिले जानकारी दिनुभयो । अबको केही दिनभित्रै घरधुरी सर्भेक्षणको काम समेत अघि बढाइने कक्षपतिले बताउनुभयो ।
एनोफिलिप्स नामको पोथी लामखुट्टेको टोकाइबाट औलो रोग लाग्ने गर्दछ । लामखुट्टेको टोकाइबाट लाग्ने फाल्से पाराम र भाइभेक्समध्ये फाल्से पारामको लक्षण देखि परेको विरामीको सात दिनभित्र उचार हुन नसके मृत्यु नै हुने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका औलो रोग सहायक पुष्कर थापाले बताउनुभयो । औलोबाट बच्नका लागि सुरक्षित झुल वितरण गर्ने भएपछि इन्दवाती नदीको किनार आसपासका साँगाचोक, फड्कशिला, भिमटार, भोटसिपा, सिपापोखरे साँगाचोक लगायत गाविसका सीमान्तकृत माझी तथा दनुवार समुदायको लागि निकै राहात हुने देखिएको छ ।