Responsive Ad Slot

latest

बसको ठक्करले बालकको मृत्यु विरोधमा यातायात अवरुद्ध

Friday, November 11

/ by Krishna Neupane
तनहुँ खबर संवाददाता
तनहुँ, कार्तिक २५
डुम्रे बेसीसहर सडकखण्डअन्तर्गत तनहुँको भानु गाविसको खहरेमा बिहीबार बेलुका भएको बस दुर्घटनामा एकजना स्कुले बालकको मृत्यु भएको विरोधमा स्थानीय बासिन्दाले शुक्रबार बिहानदेखि डुम्रे बेसीसहर सडक अवरुद्ध बनाएका छन् ।
बिहीबार बेलुका पौने ५ बजे ना३प ५३३० नम्बरको बसको ठक्करले स्थानीय भानु- १ खहरेका ११ वर्षीय विकास गुरुङको मृत्यु भएको थियो । स्थानीय बासिन्दाले बसको ठक्करबाट घाइते भएका बालक गुरुङलाई फेरि बस व्याक गरेर किचेर हत्या गरेको भन्दै पीडकलाई कडा कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै आज बिहान ८ बजेदेखि सडक अवरुद्ध पारेका हुन् ।
आक्रोसित स्थानीय बासिन्दाले बिहीबार बेलुकादेखि नै यातायात बन्द गरेकोमा प्रहरीले राति बल प्रयोग गरी सडक खुलाएको थियो । बल प्रयोगका क्रममा प्रहरीले तीन राउण्ड अश्रुग्याससमेत छोडेको थियॊ । घटनाको विरोधमा स्थानीय बासिन्दाले अहिलेसम्म मृतक बालकको शव उठाउन दिएका छैनन् । प्रहरीले बस चालक लमजुङ सिम्पानी- ७ का भीमबहादुर थापा र बसलाई नियन्त्रणमा लिएको छ ।
यातायात खुलाउने विषयमा अहिले घटनास्थल नजिकै पीडित पक्ष प्रहरी प्रशासन र स्थानीय बासिन्दाबीच छलफल भइरहेको छ । बिहानैदेखि सडक अवरुद्ध भएपछि सो सडकखण्डमा थुप्रै सवारी साधन र यात्रुहरु बीच सडकमा अलपत्र परेका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI