Responsive Ad Slot

latest

चिनियाँ प्रधानमन्त्री जियावाओको भ्रमण पुस ५ देखि

Tuesday, November 15

/ by Krishna Neupane
काठमाडौ, कार्तिक २९ - चिनियाँ प्रधानमन्त्री वेन जियावाओले अगामी पुस ५ देखि ७ गते (डिसेम्वर २०–२२) सम्म नेपालको भ्रमण गर्ने भएका छन् । जियावाओको भ्रमण लगतै आफुले चीनको भ्रमण गर्नेसमेत प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बताएका छन् ।

मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै प्रधानमन्त्री भट्टराईले चिनियाँ प्रधानमन्त्रीको नेपाल भ्रमणको मिति जानकारी गराएका हुन् ।

'नेपालको शान्ति प्रकृयालाई टुङ्गोमा पुर्याउनका लागि अन्तरराष्ट्रिय रुपमा पनि हामी सन्तुलित ब्यवहार गर्नुपर्ने हुन्छ' प्रधानमन्धी भट्टराईले चिनियाँ प्रधानमन्त्रीको नेपाल भ्रमणलाई अन्तरराष्ट्रिय शक्ति सन्तुलनको रुपमासमेत प्रष्ट्याउन खोजेका थिए ।

चिनियाँ प्रधानमन्त्रीको नेपाल भ्रमणको तयारी भइरहेको भएपनि यसअघि नेपाल र चीन दुवै मुलुको यसको औपचारिक घोषणा गरेका थिएनन् । चिनियाँ प्रधानमन्त्रीको भ्रमण सम्बन्धी प्रकृयाहरु मिलाउनकै लागि उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नोभेम्बर २५ देखि चीन भ्रमण गर्दैछन् ।

चिनियाँ प्रधानमन्त्री जियावाओको भ्रमण चिनियाँ पक्षको दश बर्षपछिको सबैभन्दा उच्चस्तरको भ्रमण हुनेछ । त्यसैगरी भारतीय प्रधानमन्त्री मनमोहन सिंहले पनि अगामी मार्चमा नेपाल भ्रमण गर्ने बताइएको छ । हालै मल्दिभ्समा भएको सार्क शिखर सम्मेलनको क्रममा भएको द्वैपक्षीय वार्ताका क्रममा प्रधानमन्त्री भट्टराईले भारतीय प्रधानमन्त्री सिंहलाई नेपाल भ्रमणको निम्ता दिएका थिए ।
Don't Miss
© all rights reserved
made with by netKUTI