विराटनगर , कार्तिक २५ - बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले मन्त्रिपरिषद्ले गरेको निर्णयलाई राष्ट्रपतिले कार्यान्यन गर्नु पर्ने बताएका छन् । सभासद बालकृष्ण ढुंगेललाई आममाफी दिने निर्णयका वारेमा उनको यस्तो धारणा आएको हो ।
शुक्रवार यहाँ संवाददाताहरुसंग कुरा गर्दै माओवादी पोलीट ब्यूरो सदस्य समेत रहेका मन्त्री भट्टले १२ बुदे सहमतीको मर्म अनुसार मन्त्री परिषदले ढुंगेललाई आममाफी दिने नियर्ण गरेको दावी समेत गरे । 'जनयुद्धका क्रममा नै भएको घटना भएकाले ढुंगेललाई माफी दिएको हो, त्यसैले यो कुनै भिन्न घटना नभएका कारण राष्ट्रपतिले यसलाई फिर्ता गर्नु वा नमान्नु पर्ने करण छैन,' उनले भने ।
'बालकृष्णजीको पनि गणतन्त्र स्थापनाका लागि महत्व पुर्ण योगदान थियो, १२ बुंदे महमतिमा त्यसवेलाका सवै राजनितिक मुद्दालाई आममाफी गर्ने सहमति भएको थियो,' उनले भने, 'हामीलाईपनि मुद्दा लगाएको थियो नि ।' यो कुरामा विवाद गर्नु भनेको शान्ति सम्झौता विपरीत हुने भट्टको भनाइ थियो ।
मन्त्री भट्टले अहिले सरकारको ध्यान पेट्रोलीय पदार्थ र ग्यासमा गएको बताउँँदै यसमा कालो बजारी गर्नेलाई कानुनको दायरमा ल्याउने बताए । पेट्रोलीयम पदार्थमा मुल्य बढाउन अर्थ मन्त्रालय संग छलफल सकिएको र प्रधानमन्त्री विदेश भ्रमणवाट फर्के लगतै सरकारले ठोष निर्णय लिने बाणिज्य तथा आपुर्ति मन्त्रीको भनाइ थियो । 'सरकारले सधै बढी मुल्यमा ल्याएर कम मुल्यमा दिन सक्दैन, मुल्य बृद्धि आजको आवश्यकता हो, अहिलेपनि सर्वसाधारण जनताले भन्दा विचका दलालहरुले बढी सुविधा पाएका कारण यसलाई बैज्ञानीक प्रणलीवाट मुल्य निर्धारण गर्न मन्त्रालयले गृह कार्य गरी रहेको छ,' उनले भने । तर मन्त्री भट्टले कही र कति प्रतिश मुल्य बृद्धि हुन्छ भन्ने कुरा भने खोलेनन् ।