Responsive Ad Slot

latest

लुक्लामा अलपत्र पर्यटकको उद्दार सुरु

Sunday, November 6

/ by Admin BHOLA THAPA
काठमाडौं, कार्तिक २० - मौसम बिग्रिएर ६ दिनदेखि हवाई उडान अवरुद्ध हुँदा सोलुखुम्बुको लुक्लामा अलपत्र झण्डै साढे तीन हजारभन्दा बढी पर्यटकको उद्दार सुरु भएको छ ।

उद्दारका लागि आइतबार बिहान लुक्ला पुगेको सिम्रिक एयरको विमान ८ जना पर्यटक लिएर काठमाडौं फर्किएको छ । यसैगरी तारा, फिस्टेल र अन्य कम्पनीका हेलिकोप्टर पनि लुक्ला जाने तयारीमा छन् । उद्दारका लागि नेपाली सेनाको एमआई १७ हेलिकोप्टर पनि तयारी अवस्थामा रहेको सेनाका प्रवक्ता रमिन्द्र क्षेत्रीले जानकारी दिए ।

६ दिनदेखि पदयात्री तथा पर्यटक अलपत्र परेपछि उनीहरूको खानेबस्ने व्यवस्था मिलाउन स्थानीय होटल व्यवसायीलाई समेत समस्या परेको छ । केही विदेशी पर्यटकको भिसाको म्यादसमेत सकिएको छ ।

'२० जनाको समूहमा दुई जनाको भिसा अवधि सकिसकेको छ,' लुक्लामा पदयात्री लिएर गएका हाइल्यान्ड एक्सकर्सनका टुर लिडर सालिकराम सुवेदीले कान्तिपुरसँग भने, 'अधिकांश एफआईटी (एजेन्सीको सहयोग नलिई स्वतन्त्र सगरमाथा क्षेत्र पुगेका पर्यटक) सँग पैसा छैन ।' पर्यटकहरू उडान नभएर यत्तिकै थन्किनुभन्दा पनि खर्च गर्नलाई पैसा नहुँदा चिन्तामा परेको उनले बताए ।

प्रत्येक दिन पर्यटकको संख्या बढ्दै जाँदा लुक्लाका होटल व्यवसायीले पनि खानेबस्ने व्यवस्था मिलाउन सकेका छैनन् । 'क्षमताभन्दा दोब्बर पाहुना छन्,' सुवेदीले भने, 'भएकै स्टकले खाना पुर्‍याउनुपर्ने भएकाले दिइरहेकोभन्दा कम गुणस्तरको खुवाउन थालिएको छ ।' उनकै कम्पनीबाट ३३ विदेशी पदयात्री लुक्लामा छन् ।

व्यवसायीले पर्यटक राख्ने ठाउँको अभाव भएपछि आउनेलाई अन्य गाउँका साना होटल -जहाँ खाना मात्र खुवाइन्छ) मा ओछ्यानको व्यवस्था मिलाउन थालेको पनि उनले जानकारी दिए । 'लुक्लाका होटलमा भान्सा र डाइनिङमा समेत पर्यटकलाई सुताइरहेका छन्,' उनले भने । बास बस्न होटल नपाएपछि केही पर्यटकहरू खुला आकाशमुनि पाल टाँगेर बस्न थालेका छन् ।

साना जहाज उद्धारका लागि परिचालन हुँदा शुक्रबार पर्यटकहरूबीच नै झगडा भएको जानकारी उनले दिए । 'क्षमता थोरै छ, काठमाडौं ल्याउनुपर्ने धेरै छन्,' उनले भने, 'शुक्रबार एउटालाई लानुपर्ने अर्को पर्यटकले पहिल्यै झोला लिएर हेलिकप्टर चढेपछि तनाव उत्पन्न भएको थियो ।'

लुक्ला विमानस्थलका स्टेसन प्रमुख फुनुरु लामाका अनुसार कतिपय पर्यटक टर्मिनलमै बसेर रुने/कराउने गरिरहेका छन् । 'हामीले केही गर्न सक्ने अवस्था पनि छैन,' उनले भने । source:ekantipur.com
Don't Miss
© all rights reserved
made with by netKUTI