काठमाडौं, असोज १५ - प्रधानमन्त्री बाबुराम भट्टराईले राजमार्गका होटलहरुमा बासी सडेगलेको र फोहोर खाना खुवाएर यात्रुहरुबाट बढी पैसा असुलेको गुनासो आएपछि त्यस्ता होटलको तत्काल निरीक्षण र अनुगमन गरी कारवाही गर्न प्रधानमन्त्री कार्यालयका सचिव लिलामणी पौडेललाई निर्देशन दिएका छन्। त्यस्तै राजमार्गका होटलहरुमा भएका अव्यवस्थित शौचालयलाई तत्काल व्यवस्थित बनाउन तथा दशैका बेला सवारीधनीहरुले यात्रुहरुबाट मनपरी भाडा असुलेको विषयमा पनि छानविन गरी कारवाही गर्न सचिव पौडेललाई निर्देशन दिएको प्रधान मन्त्रीका स्वकीय सचिव विश्वद्वीप पाण्डेले जनाए। जनताको प्रत्यक्ष सरोकार राख्ने कुनै पनि निकायमा हुने यस्ता खालका गतिविधि तत्काल जानकारी गराउन प्रधानमन्त्रीको निजी सचिवालयले आग्रह गरेको छ । हरेक माध्यमबाट आएका गुनासाहरुको तत्काल सम्बोधन गरिने प्रधानमन्त्रीले घोषणा गरेका छन्। साभारः (नागरिक)