![]() |
सुमन वैरागी |
प्रकृतिको धनी देश, कृषिप्रदान देश तर हाम्रो मुलुकको अवस्था भने अहिले नाजुक स्थितिमा छ । मुलुकमा लामो समयदेखि राजनीतिक संक्रमणकालले जरो गाड्दै आएको छ । राजनीतिक अस्थिरताको कारणले गर्दा दक्ष जनशक्ति पलायन हुने अवस्था छ । शिक्षा क्षेत्रमा पनि विचलन आएको छ । हत्या, हिंसा, बन्द, हड्ताल, अपहरण जस्ता घटनाहरुले गर्दा शैक्षिक बेरोजगारहरु झन् बढ्दो छ भने उनीहरुमा विचलन आएको छ । जसले गर्दा स्वदेशमा बेरोजगार अवस्थामा रहेका र उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरुको लहर वैदेशिक रोजगारीमा हानिएको छ । एकातिर उच्च शिक्षाका लागि विदेशमा पढ्ने र उतै काम गर्ने उद्देश्यले विदेशिने गरेको छ भने अर्कोतिर अदक्ष, अर्धदक्ष जनशक्ति भएका बेराजगार युवाको समूहलाई वैदेशिक रोजगारीले तानेको छ । यसको प्रमुख कारण भने मुलुकमा भएको राजनीतिक अस्थिरताको कारण हो ।
मुलुकका युवायुवतीहरु धेरैको संख्यामा स्वदेशमा कुनै रोजगारको अवसर प्राप्त नभएपछि रोजगारको खोजीमा भौंतारिँदा वैदेशिक रोजगारलाई विकल्पको रुपमा लिइरहेका छन् भने केही संख्यामा मुलुकमा कार्यरत रहेकै अवस्थाका युवा जनशक्ति पनि बैदेशिक रोजागरीमा जाने गरेका छन् । राजनीतिक अस्थिरताका कारण बेरोजगारी बढेपछिको बाध्यता आम नेपालीहरुमा विदेश पलायन हुनुभन्दा स्वदेशमा कुनै विकल्प सोच्न सक्ने अवस्था छैन । स्वदेशमा रोजगार भएर पनि निरन्तरता दिन नसक्नुको पछाडि र वैदेशिक रोजगारीलाई नै विकल्प लिनुको पछाडि मुलुकभित्रको बन्द हड्ताल, अपरहणसँगै बढेको महंगी प्रमुख कारण भएको छ । सीमित रोजगार पाएकोमा पनि रोजगार अनुसारको उचित पारिश्रमिक नभएका कारण युवाहरुको मनस्थितिमा विचलन आएकै कारण अहिले वैदेशिक रोजगारले प्राथमिकता पाएको हो । स्वदेशमा रोजगारको कुनै विकल्पहरु नै नभएका भने पक्कै होइनन् तर रोजगारबाट सन्तुष्टि नपाउनु र मानसिक विचलन बढ्नु प्रमुख कारण हो ।
विस्तारै विस्तारै मुलुकभित्र पनि वैदेशिक रोजगारमा जानेहरुका लागि उचित व्यवसायिक शिक्षा नै लागू भएको छ । जुन शिक्षा हासिल गर्न सकेमा युवायुवतीहरुमा स्वरोजगारको अवस्था सिर्जना हुने अवस्था पैदा हुनेछ । दिनानुदिन शिक्षित युवायुवतीहरु बेरोजगार हुने क्रम पनि यथावतै छ । अशिक्षितहरुले वैदेशिक रोजगारका लागि मलेसिया, कतार, साउदी अरब, ओमन, बहराइन, कुवेत, इजरायल, लेवनान जस्ता विकासोन्मुख मुलुकमा जाने गर्दछन् भने शिक्षित युवाहरु युरोप, अमेरिका, यूके जस्ता विकसित मुलुकहरुमा जाने गर्दछन् । तर सबै सम्बन्धित काममा दक्ष भएर जान भने सकेका छैनन् । त्यसकारण अहिले सबै वैदेशिक रोजगारमा जानेहरुलाई अशिक्षाको पीडाले सताइरहेको छ ।
वैदेशिक रोजगारका लागि खाडी मुलुकहरुमा जाने प्रायः सबै कामदारहरु अशिक्षाको पीडाभित्र पिल्सिएका छन् । उनीहरुको प्रारम्भिक शिक्षा नै गतिलो छैन । हाम्रो मुलुकमा विद्यमान रहेको शिक्षा वास्तवमा नै व्यवहारिक हुन सकेको छैन । न यसले व्यवसायिक रुपमा हामीलाई दक्ष बनाउन सक्छ न वास्तविक जीवनमा लागू हुने कुनै कुराको ज्ञान दिन दिन्छ । हामी स्वदेशमा वा विदेशमा आफ्नो सीप देखाउनका लागि व्यवसायिक शिक्षा लिनु जरुरी हुन्छ । हामीसँग व्यवहारिक शिक्षा नभएका कारण मुलुकमा रहेको वी.ए., एम.ए.सम्मका पढाइ गरेकालाई उदाहरणका रुपमा लिन सकिन्छ । उनीहरुले आफ्नो वास्तविक जीवनमा त्यो शिक्षालाई लागू गर्ने ठाउँ पाइरहेका छैनन् जसको कारण बेरोजगारको पीडाले भौंतारिनुपनुरेको यथार्थ हामीमाझ छ । विदेशमा काम गर्न जानेका लागि चाहिने कार्पेन्टर, मेसन, प्लम्बर, स्टिल फिक्चर, मेकानिकल, इलेक्ट्रिसियन, कुक, वेटर लगायतका विभिन्न सीपमूलक शिक्षाको आवश्यकता अहिले खड्किएको छ । जसका कारण उनीहरुले वैदेशिक रोजगारमा गएर पीडा भोग्न परिरहेको छ । हामीले प्रारम्भिक शिक्षासँगै दिनुपर्ने व्यवहारिक शिक्षा पनि दिन सकियो भने समाजमा लागू गर्न सकिने थियो र सम्पूर्ण युवावर्गलाई आत्मनिर्भरको बाटोमा लम्काउन सकिने थियो । तर उचित शिक्षाको अभावले गर्दा न स्वदेशमा रोजगार मिलेको छ न विदेशमा नै । यहाँ शिक्षाको नाममा नक्कली सर्टिफिकेटको विगविगी छ तर सर्टिफिकेट लिएर विदेश गएको त्यो नेपालीले आफूले लिएको सर्टिफिकेट अनुसारको न काम जानेको छ न त्यो सम्बन्धि कुनै शिक्षा नै लिएको छ । जसका कारण उसले सम्बन्धित रोजगारदाता कम्पनीले हेल्परको रुपमा राखेर लगाएको कामलाई मात्र हेर्ने गर्छ र मेनपावरले ठग्यो, एजेन्टले ठग्यो, कम्पनीले मलाई भनेको काम दिएन भन्छ तर आफ्नो दक्षतामा हेर्न चाहँदैन र त्यसको शिकार बन्न बाध्य हुन्छ । यदि ऊ शिक्षित र दक्ष हुँदाहुँदै पनि कम्पनीले अर्कोकाम भने पक्कै लगाउँदैनथ्यो होला भन्ने हामीले सोच्न सक्दैनौं । त्यसको परिणाम वैदेशिक रोजगारमा गएकाहरुले भोगिरहेका छन् । यदि उसँग व्यवहारिक शिक्षा थियो भने त्यो पीडा उत्पन्न हुने नै थिएन ।
हाम्रो मुलुकको प्रारम्भिक शिक्षा व्यवहारिक नभए पनि एसएलसी पछि पनि हामीले व्यवहारिक र व्यवसायिक शिक्षा दिन सकेको छैन । सरकारी स्तरमा ती शिक्षा पाउने ठाउँ नभएको र प्राइभेट स्तरमा त्यो शिक्षा पढाउन निकै महंगो पर्ने भएकाले निम्न वर्गले कल्पना नै गर्न नसक्ने भएपछि सरकारी कलेजहरुमा जस्तो पाठ्यक्रम छ त्यो पढाउनुपर्ने बाध्यता लिएर बसिरहेका छन् । यदि उसले कुनै कामको दक्षतापूर्ण सर्टिफिकेट पाइसकेको छ भने त्यसलाई पनि आइ.ए., बी.ए. जस्ता सर्टिफिकेटले पाउने मान्यता दिनुपर्छ, त्यसमा सम्बन्धित निकायको ध्यानाकर्षण हुनु जरुरी छ । हामीले वैदेशिक रोजगारमा जानुपूर्व विदेशमा गर्ने कामको दक्षता हासिल गनुपर्ने, सम्बन्धित देशको भाषा ज्ञान लिनुपर्ने, त्यहाँको नियम, कानुन र संस्कृतिप्रति पनि केही ज्ञानहरु लिनुपर्ने आवश्यक हुन्छ । यहाँ तिनै कुराहरु सिकाउनका लागि धेरै नै अभिमुखिकरण तालिम दिने संस्थाहरु खुलेका छन् तर उनीहरुले कहिल्यै यस्तो किसिमको तालिम दिइरहेका छैनन् । गाउँबाट आएका युवाहरुलाई सिधै सर्टिफिकेट चाहिन्छ भन्दै मेनपावरले नै पढाइको, तालिमको, भाषा ज्ञानको नक्कली सर्टिफिकेट भिराएर पैसा असुल्दै विदेश पठाउने गरिरहेको छ तर ती युवाहरु आफूलाई यति पढेको, जानेको भन्दै हिंडे पनि सम्बन्धित ठाउँमा केही गर्न नसकेपछि मेनपावरले ठग्यो भन्ने चलन भइसकेको छ । तर उनीहरुले नक्कली सर्टिफिकेट लिनुभन्दा त्यही खर्चमा म दक्ष भएर जान्छु भनेर कहिल्यै भन्ने गरेका छैनन् । यस्ता कुराहरु अहिले नेपालको युवा वर्गमा विद्यमान छ । अशिक्षित युवाहरु त यसरी फँसिरहेका छन् तर शिक्षित युवाहरु पनि फसेका धेरै नै दृष्टान्तहरु हामीले भेटेका छौं । जे होस् यसको पछाडि हाम्रो देशमा प्रारम्भिक स्तरदेखि नै व्यवहारिक शिक्षा नपाउनुको एउटा कारण त छँदैछ, त्यसमा पनि मुलुकमा रहेका उद्योगधन्दाहरु संचालनमा नआउनु र नयाँ उद्योगधन्दाहरु संचालन नगरिनु र सरकारमा जानका लागि युवाहरुलाई ‘युज एण्ड थ्रो’का रुपमा हेरिनुले नै वैदेशिक रोजगारमा पीडा थपिएको हो । त्यतिमात्र होइन राजनीतिकरणले गर्दा संचालित उद्योगधन्दाहरुमा पनि मजदुर युनियनको नाममा राजनीति गरेर उद्योग बन्द गर्ने परिपाटीको विकास भएको छ, यसको अन्त्य हुनु पनि जरुरी देखिन्छ । राजनीति अहिले बेरोजगार जनशक्ति उत्पादन गर्ने काराखाना बनिरहेको छ त्यसैले अबको दिनहरुमा विकासको क्रान्ति गर्दै राजनीतिकरणलाई बन्द गरिनुपर्छ । राजनीति भनेको नेताको कुर्सी सम्हाल्ने र जनता शोषण गर्ने व्यवसायका रुपमा परिणत भइरहेको छ । जबसम्म मुलुकमा पूँजिवादी विकासको थालनी हुँदैन तबसम्म मुलुकको विकास हुन सक्दैन । यसतर्फ पनि सम्बन्धित निकायको ध्यान जानु जरुरी देखिन्छ ।
अहिले परिवेश अनुसार युवाशक्तिलाई स्वदेशमा रोजगारी दिलाउन नसके पनि विदेशमा जानु अगावै सम्बन्धित देश र रोजगारदाता कम्पनीको माग अनुसार दक्षता हासिल गराई उसको दक्षता परीक्षण स्वदेशमा गराएर विदेश पठाउनुपर्ने प्रावधान सरकारी नियकाबाटै अबलम्बन गरिनुपर्छ । जस्तो अहिले दक्षिणका कोरियामा रोजगारीमा जान चाहने युवाशक्तिलाई इपीएस प्रणालीले गरेको परीक्षा जस्तै गरेर अझ सशक्त रुपमा प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिन्छ । जसले गर्दा वैदेशिक रोजगारमा भइरहेको ठगीलाई पनि नियन्त्रण गर्न सकिने देखिन्छ । वैदेशिक रोजगारीका लागि खोलिएका मेनपावर कम्पनीहरुले आफूखुशी रकम असुलेर अदक्ष युवाहरुलाई विदेश पठाउन पाउने छैनन् । सम्बन्धित देशमा सरकारले गरेको श्रम सम्झौतालाई पूर्ण रुपमा कार्यान्वयनमा अझै ल्याइएको छैन भने कतिपय देशमा श्रम सम्झौता नगरेरै नेपाली कामदार पठाउने गरिएको छ । सरकारी नीति अनुसार वैदेशिक रोजगारमा जान चाहने युवाहरुले स्वदेशमा गर्नुपर्ने कुनै पनि कामको स्वदेशमा अनुगमन सम्बन्धित निकायले गरेको देखिँदैन । यस्ता विविध कारणहरुले वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरुले ठगीको पीडा भोगिरहेका छन् भने कतिले अकालमै ज्यान गुमाएर क्षतिपूर्तिसम्म पाएका छैनन् । जसले गर्दा उनीहरुको परिवार नै बेसहारा बनेको छ । जे होस् सरकारी नीतिबाटै वैदेशिक रोजगारमा होस् या स्वदेशमा पाउने रोजगारमा होस् प्रारम्भिक शिक्षासँग व्यवहारिक शिक्षा पनि सँगसँगै दिइनुपर्ने आजको आवश्यकता हो । जुन शिक्षाले गर्दा मुलुकको युवाशक्ति पलायन नहुने र स्वदेशमा नै आत्मनिर्भर भएर मुलुकको विकासतर्फ अग्रसर हुने थिए की ! युवाहरुलाई मुलुकको विकासमा लगाउनु नै आजको आवश्यकता बनिरहेको छ, जसलाई प्राविधिक र व्यवसायिक शिक्षाले महत्वपूर्ण योगदान पु¥याउनेछ । आजको अवस्थामा हामीले दिने शिक्षा पनि प्राविधिक र व्यवसायिक हुनुपर्छ, जसले आम जनताको हितमा काम गर्न सक्छ । जनता विकास भए भने राष्ट्र विकास हुन्छ भन्ने मान्यताका साथ वर्तमान शिक्षा प्रणाली पनि लागू हुनु जरुरी छ ।
सुमन वैरागी
इमेलः-suman788@gmail.com