Responsive Ad Slot

latest

एकताको नाममा भारतसामू आत्मसमर्पण गरिन्नः बादल

Thursday, October 20

/ by Admin BHOLA THAPA
बागलुङ कार्तिक ३-
एकीकृत नेकपा माओवादीका महासचिव रामबहादुर थापा बादलले पार्टी एकताको नाममा भारतसामू आत्मसमर्पण गर्न नसक्ने बताउनु भएको छ । पुराना राजनीतिक दल र आफ्नो दलको एउटा तप्काले भारतको इसारामा काम गरेको भन्दै महासचिव वादलले राष्ट्रियतालाई समाप्त पारेर एकीकृत हुनुको औचित्य नभएको बताउनु भयो । क्रान्तिकारी पत्रकार सङ्घ बागलुङले बिहीबार गरेको पत्रकार सम्मेलनमा थापाले भन्नुभयो-’आत्मसमर्पण राष्ट्रहित र जनादेश विपरीत हो । हामीलाई कसैको दासत्व मान्य छैन ।’ महासचिव बादलले भारतले अहिले पनि नेपालको राजनीतिमा प्रत्यक्ष हस्तक्षेप गरिरहेको आरोप लगाउनु भयो । प्रधानमन्त्रीको भारत विवादास्पद कुनै सन्धिसम्झौता नगर्ने निर्णय भएको भन्दै उहाँले प्रधानमन्त्रीको भारत भ्रमणका सिलसिलामा असमान सन्धिका विषयमा छलफल मात्र हुने बताउनुभयो । ‘भ्रमण शान्ति र संविधानका विषयमा पनि केन्दि्रत हुनेछ,’ महासचिव थापाले भन्नुभयो । उहाँले माओवादीका लडाकूलाई समायोजनपछि पनि निःशस्त्र भूमिका दिएर षड्यन्त्र गर्न खोजिएको स्पष्ट गर्नुभयो । शान्ति स्थापना र संविधान लेखनको सन्दर्भमा विगतका सहमति र सम्झौताको पूर्ण पालना हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो-’कांग्रेस र एमाले विगतका सम्झौताबाट भाग्न खोजेका छन् ।’ नयाँ सुरक्षा नीति लागू गरी लडाकूहरुको सम्मानजनक समायोजन हुनुपर्ने उहाँले बताउनु भयो । मोहन वैद्य समूहको कार्यकर्ता प्रशिक्षणका लागि बागलुङ आएका महासचिव बादलले विचार मिल्नेहरुबीच छलफल अन्तक्रिर्या गर्न पाउने अधिकार पार्टीका सबै नेताहरुलाई भएको स्पष्ट पार्नुभयो । माओवादी फुट्ने क्रममा रहेको त होइन भन्ने पत्रकारहरुको जिज्ञासामा उहाँले भन्नुभयो-’छलफल, अन्तक्रिर्या र बहसले पार्टीलाई नयाँं एकता प्रदान गर्छ । पार्टीमा देखिएका विवाद आगामी केन्द्रीय समितिको बैठकमा छलफल हुनेछ ।’ महासचिव बादलसहित स्थायी समिति सदस्य नेत्रविक्रम चन्द, पोलिटब्युरो सदस्य हितमान शाक्य, माओवादीको मगरात राज्य समितिका सह-इन्चार्ज सन्तोष बुढामगर पनि बागलुङ आइपुग्नुभएको छ । बागलुङमा धौलागिरि अञ्चलस्तरीय वैद्य पक्षधर अगुवा कार्यकर्ताको प्रशिक्षण हुने जनाइएको छ । यता, संस्थापन पक्षका नेताहरुले भने एकपक्षीय भेला भन्दै कार्यक्रम बहिष्कारको घोषणा गरेका छन् ।
समाचार साभारः अनलाइन खबर डट कम
Don't Miss
© all rights reserved
made with by netKUTI