सुमन वैरागी
अवसरको खोजीमा विदेशिएका नेपालीहरुले आफ्नो आधारभूत आवश्यकता पूर्तिसँगै विदेशमा नै संगठित भएर आफ्ना गतिविधिहरुलाई सक्रिय रुपमा अगाडि बढाए । संगठित हुने क्रममा प्रवासिएका नेपालीले गैर आवासीय नेपाली संघ(एनआरएन)को नामबाट आफूलाई चिनाउन थाले । पाँच बर्ष अगाडि उपेन्द्र महतोको अध्यक्षतामा विश्वभरी छरिएर रहेका एनआरएनहरु संगठित भए र आफ्नो गतिविधिलाई विश्भरी फैलाउन सफल भए ।
एनआरएनको पाँचौं सम्मेलन भर्खरै सम्पन्न भएको छ । संस्थापक अध्यक्ष उपेन्द्र महतोले तीन कार्यकाल, देवमान हिराचनले एक कार्यकाल कार्यभार सम्हालेपछि पाँचौं कार्यकाल भने विदेशमा व्यापार व्यवसाय गर्दै आएका जीवा लामिछानेलाई मिलेको छ । ‘एक पटकको नेपाली संधैको नेपाली’ भन्ने मान्यताका साथ सम्पन्न पाँचौं सम्मेलनले जीवा लामिछानेको समूहलाई कार्यभारसँगै चुनौतीहरु प्नि थपिदिएको छ ।
एनआरएनहरु अवसरको खोजीमा नेपाल बाहिर छरिएर व्यापार, व्यवासाय, रोजगारी गर्दै आए पनि नेपालमा भने उनीहरुको लगानीले प्राथमिकता पाउन सकेको छैन । अर्थात् एनआरएनको भाषामा लगानीमैत्री वातावरण नेपाल सरकारले बनाउन सकेको छैन । एनआरएनहरुले संधै भन्ने गरेको एउटै कुरा छ ‘हामी नेपालमा लगानी गर्न चाहन्छौं तर सरकारले लगानीको वातावरण बनाइदिनुपर्छ ।’ तर एनआरएनले यो पनि सोच्नुपर्ने हो – ‘म कहाँ जन्मे र कहाँ हुर्केँ ?’ आफू जन्मेको र हुर्केको ठाउँ अर्थात आफ्नो मातृभूमिप्रति दायित्व र कर्तव्य के हो भन्ने कुरा पनि प्रष्ट हुनुपर्ने हो । ‘मातृभूमिलाई सम्झेर जसले लगानी गर्छ त्यही नै सच्चा राष्ट्रवादी नेपाली हुनसक्छ भन्ने हाम्रो मान्यता हो । जन्मदिने आमा जति नै खराब भए पनि आमाप्रतिको कर्तव्य र दायित्व भुल्ने सन्तानको कुनै अर्थ छैन भन्ने पनि बुझ्नु जरुरी छ । वातावरणलाई ध्यानमा राखी एनआरएनले लगानी गर्नु जरुरी छ ।
अर्को कुरा एनआरएन दोहोरो नागरिकताको कुरा गरिरहेको छ, जुन सान्दर्भिक छैन । नेपाली नागरिकता लिएर विदेश छिरेकाहरुले विदेशमा अर्बौं कमाइ गरेपछि मुलुकको विकासमा लगानी गर्नु सट्टा नागरिकताको मुद्दा उठाउनुलाई भोलीको अवस्थामा राजनीतिमा प्रवेश गर्न खोजेको स्पष्ट हुन्छ । उनीहरु विदेशी होइनन् नेपाली नै हुन् भन्ने नेपाली जनताले बुझेका छन् । सरकारले बनाइदिएको अनुकुल वातावरणमा त जसले पनि लगानी गर्न सक्छ तर एनआरएनले आफ्नो लगानीलाई जस्तो वातावरण भए पनि जुधेर मातृभूमिको विकासमा लगाउनु ठूलो कुरा हो । विदेशका दातृ निकायले त वातावरण नखोजी लगानी गरिरहेका छन् भने हामी नेपालीले आफ्नै मुलुकमा लगानी गर्नका लागि अनेकौं बहना गर्नु जरुरी छैन ।
नेपालमा शान्ति सुरक्षा छैन, बन्द हड्ताल, चन्दा असुली जस्ता आपराधिक घटनाहरु मौलाएका छन् । पटक पटक हुने मजदुर आन्दोलनले गर्दा उद्योग धन्दाहरु पनि बन्द भइरहेका छन् । जसको असर बेरोजगार युवाहरुमा परेको छ । गरिब झन् गरिब हुँदै जाने र धनी झन् धनी बन्दै जाने अवस्था मुलुकभित्र छ । त्यसकारण पनि गाउँहरु युवाविहीन हुँदै गएको छ । विदेशमा रोजगारको खोजी गर्दै भौंतारिएकाहरुको अवस्थामा दर्दनाक स्थिति छ । मलेसिया र खाडीमा मात्र रोजगारी खोज्दै पुगेका युवायुवतीहरु २० लाख भन्दा बढी छन् । तिनीहरुको पीडामाथि मात्रै पनि कम गर्न सकिएको अवस्थामा पनि त्यहाँ क्रियाशील एनआरएनको दायित्व पूरा हुने थियो । अर्थात् मुलुकभित्र कृषि, पर्यटन, जडिबुटी, विद्युत जस्ता क्षेत्रमा लगानी गरेर देशविदेशमा त्यसको आयात निर्यातमा उचित ध्यान दिन सकेमा पनि स्वदेशको युवाशक्ति पलायन हुने थिएन । एनआरएनहरुको लगानीमा प्रवासिएका नेपालीहरुसँग भएको सीपलाई मुलुकभित्र लगानी गर्नु पनि एनआरएनको दायित्वभित्र पर्छ, त्यो पनि निर्वाचित भएका जीवा समूहले बुझ्नु जरुरी छ । तर उनीहरु प्रत्येक सम्मेलन गर्न नेपाल भित्रिँदा किन सरकारसँग हात जोडेर सम्मेलनका लागि खर्च माग्ने गर्छन् ? यो सबैका लागि सोचनीय विषय बनेको छ । आखिर संधै हामी नेपालको विकासमा सहयोग गर्न आएको भन्नेहरु नेपालको विकासका लागि लगानी गर्नुको सट्टामा सरकारी सम्पत्तीले आफ्नो सम्मेलन सम्पन्न गर्ने गर्छन् । दिन आएको भन्ने एनआरएनहरुले किन लिएर एनआरएनभित्र राजनीति गरिरहेका छन् ? यिनीहरुले यसपाली पनि सरकारी ढुकुटीबाट रु ३० लाख रुपैयाँ लिएर सोल्टीमा मोज गरेर फर्किएका छन् । अब यसैगरी अर्को कार्यकालका लागि नेपाल भित्रिँदा नेपालमा लगानी नगरे पनि नेपालको ढुकुटी रित्याउने हेतुले भने प्रवेश नगर्दा उचित हुने थियो । बरु खाडी मुलुकमा गएका नेपालीहरुको नेपालभित्र ठूलो योगदान रहेको छ तर ठूला देशमा गएर एनआरएन हुँ भन्दै व्यापार व्यवसाय गरेर ठूलो धाक लगाउँदैमा उनीहरुको योगदान ठूलो छ भन्ने कुरा पटक पटक उनीहरुले देखाएको व्यवहारबाट स्पष्ट भइसकेको छ । आखिर गरिब मुलुकमा बल्ल बल्ल उठेको कर नै उनीहरुका लागि लगानी गर्नुपरेपछि यिनीहरुले के दिन्छन् भन्ने कुरा पनि नेपालीका लागि सोचनीय बनेको छ ।
गैरआवासीयहरु अवसरको खोजीमा विदेशिएका हुन्, उनीहरुमध्ये कोही सफल भएभने कोही मध्यम वर्गीय अवस्थामै होलान् । नाना, छाना र दानाको खोजीगर्ने क्रमको निरन्तरता अहिले पनि जारी छ । तर गुजारै नचलेर विदेशिएको भन्न भने मिल्दैन । गैरआवासीय नेपालीहरु भावनात्मक रुपमा देशसँग जोडिएका छन् । विदेशमा बसेर कमाएको धन उचित ठाउँमा लगानी गरेर फाइदा लिन खोज्नु पनि स्वाभाविकै हो । त्यसैले पनि एनआरएनहरु भावनात्मक सम्बन्ध वा टाढा हुँदै वस्तुवादी चिन्तनतर्फ उन्मुख भएका छन् ।