धन बस्नेत
पोखरा, २३ असोज/ आन्तरिक तथा बाहृय पर्यटकको आगमनमा बृद्धिसँगै पोखराका साना तथा ठुला होटल पर्यटकले भरिएका छन् । पोखरामा चिनियाँ पर्यटकको आगमनमा उल्लेख्य बृद्धि भएको होटल व्यवसायीहरुले बताएका छन् । ‘फेमिली प्याकेज टुर’ गर्ने आन्तरिक पर्यटकको संख्या भने विगत भन्दा बढी नै रहेको पर्यटन व्यवसायीको भनाई छ । ‘गतवर्षन्दा पर्यटकको आगमन राम्रो छ । होटलका सबै रुम बुकिङ छन् ।’ टेम्पल ट्रीका निर्देशक बसन्त गौतमले भन्नुभयो-’दशैंमा घुम्न आउने आन्तरिक पर्यटकको संख्या पनि बृद्धि छ ।’ उहाँका अनुसार बाहृय एयरलायन्सहरुले नेपाल उडान थप गरेपछि पर्यटकको आगमनमा सुधार देखिएको हो । पर्यटकको आगमनमा देखिएको सुधारले पर्यटन व्यवसायीले राहत महशुस गरेका छन् ।
नेपाल पर्यटन वर्ष२०११ मनाईरहदाँ त्यसको सकारात्मक सन्देशसँगै सेल्फ मार्केटिङले पर्यटकको आगमनमा बृद्धि भएको अनुमान गरिएको छ । ‘अक्टोबरमा एसियन मुलुकका पर्यटक बढी छ ।’ उहाँले भन्नुभयो-’युरोपियन मुलुकका पर्यटकको आगमन समेत विस्तारै बढ्दै गएको छ ।’ उहाँका अनुसार ४८ कोठे होटलको अकुपेन्सी अहिले विगत भन्दा राम्रो छ । काठमाडौं आएका पर्यटक मध्ये ३० प्रतिशत भन्दा बढी पर्यटक पोखरा आउने गरेका छन् । पोखरा आएका पनि अधिकांश टे्रकिङ जाने गरेका छन् । चिनिया, कोरियन पर्यटकहरु विशेष गरी ग्रुप प्याकेजमा आउने गरेका छन् । हवाई र यातायात मार्फ दैनिक पोखरामा एकहजार भन्दा बढी पर्यटक आउने गरेका छन् । भारतीय पर्यटक भने अक्टोबर लागेपछि केही घट्दै गएको व्यवसायीहरुले बताएका छन् । ‘मौसम राम्रो छ । पर्यटकको सुरक्षा र स्थिर राजनीतिले अझै पर्यटक आगमनमा बृद्धि हुने छ ।’ होटल माउण्ट कैलाशका अध्यक्ष नरेश भट्टर्राईले भन्नुभयो-’प्याकेज ग्रुपमा आउने पर्यटक विगतभन्दा बढी छन् । सबै कोठा बुकिङ भएकोले केही पर्यटकहरु भने कोठा नपाएर समेत फर्किएका छन् ।’ गतवर्षन्दा १५ देखि २० प्रतिशतले पर्यटक आगमनमा बृद्धि भएको अनुमान होटल व्यवसायीहरुले गरेका छन् । ठुला होटलको तुलनामा साना होटलले पनि राम्रै व्यापार गरेका छन् । साना होटलमा बाहृय पर्यटक भन्दा पनि आन्तरिक पर्यटकले भरिएका छन् । ‘विभिन्न ठाँउबाट दशैंमा समूहगत रुपमा घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढी छ ।’ लेकसाइडस्थित होटल प्लेजेन्ट होमका निर्देशक टिका ढुंगेलले भन्नुभयो-’चिनियाँ पर्यटकको ग्रुप पनि उत्तिकै छन् । विगत भन्दा होटलको अकुपेन्सी राम्रो छ ।’ पोखरामा झण्डै साढे चार सय साना तथा ठुला होटलहरु सञ्चालित छन् ।