पहिलो चरणमा ७० हजार संकलन
हरि बहादुर सारुमगर
पाल्पा कार्तिक ३- विभिन्न कारणले जोखिममा परेका तथा समस्या भोगिरहेका बालबालिकाहरुलाई संरक्षण एवं सहयोग गर्ने उद्धेश्यले जिल्ला बाल कल्याण समिति पाल्पाले आपतकालिन बालउद्धार राहात कोषको स्थापना गरेको छ । यो राहातकोषमा ७० हजार रकम संकलन भएको र रकम संकलन कार्य जारी रहेको बालकल्याण समिति पाल्पाले जनाएको छ । यो कोषबाट बाबु आमा वा संरक्षकबाट बन्चित भएका बालबालिका, अपाङ्गता भएका बालबालिका, विभिन्न कारणले बेवारिसे र जोखिम अवस्थामा पुगेका,,यौन शोषण, यौनदूव्र्यवहार, वेचविखन वा ओसारपसारमा परेका बालबालिकाहरुलाई सहयोग गरिनेछ । यस्तै एच.आई.भी र एड्स संक्रमित तथा प्रभावित बालबालिका, हराएका वा वेवारिसे अवस्थामा फेला परेका बालबालिका र जिल्ला बालकल्यण समिति पाल्पाले सहयोग गर्न आवश्यक देखेका बालबालिकाहरुलाई यो कोषबाट सहयोग गर्न सकिने बाल कल्याण अधिकारी चमेली देवी श्रेष्ठले जानकारी गराउनु भयो । महिला विकास अधिकृत समेत रहनु भएका श्रेष्ठले जिल्लामा विभिन्न कारणले जोखिममा परेका बालबालिकाहरुले सहयोगको लागि बालकल्याण समितिमा निवेदन दिने गरेकाले यस किसिमको कोषको स्थापना गरेको बताउनु भयो । राहातकोष स्थापनाको लागि जिल्ला बाल कल्याण समिति पाल्पाले ६५ वटै गाविसका गाउँ बाल संरक्षण तथा सम्बद्र्धन उप समिति र जिल्लामा रहेका विभिन्न संघसंस्था तथा कार्यालयहरुसँग सहयोग माग गरेको श्रेष्ठले बताउनु भयो ।