काठमाडौ, आश्विन २३ - केही फिल्म चल्नुअघि नै प्रतीक्षित बन्छन् । नयाँ प्रविधिमा निर्मित भएर होस् वा फिल्ममा संलग्न फिल्मकर्मीको अतीतको विश्वसनीयताले । यसपालि दसैंको छेकोमा दुई प्रतीक्षित फिल्म रिलिज गरिए, 'अन्दाज' र 'मेरो लभस्टोरी' । यसअघि लगातार व्यावसायिक रूपमा सफल फिल्म बनाउँदै आएका निर्माता छवि ओझाले यसपालि 'अन्दाज' का लागि फिल्म वितरक अशोक शर्मा र उज्ज्वल घिमिरेलाई पनि समेटे ।
लामो समय फिल्म निर्माण छोडेर बसेका अशोक र आफ्नै निर्देशनको फिल्ममा आफैंले पनि लगानी गरेका उज्ज्वलका कारण पनि फिल्म प्रतीक्षित हुनु स्वभाविक थियो । तर फिल्मले अपेक्षाकृत फरकपना दिनबाट भने चुकेको छ । एकाध ठाउँमा कथालाई 'ट्वीस्ट' गर्नु बाहेक 'अन्दाज' ले दर्शकको अन्दाज अनुरूप नै एकोहोरो आफ्नो यात्रा तय गरेको छ ।
सिभिल इन्जिनियर भएर पनि फिल्डमा मुस्किलले देखाइने राजीव (जीवन) को पेसा छनोट भिलेनसँगको दुश्मनीका लागि मात्रै देखिन्छ । ठेकेदारहरूसँग 'दादाभत्ता' उठाउन पल्केको विक्रम (कमलकृष्ण) राजीवकहाँ पनि पुग्छ । राजीव भने पौंठेजोरी खेल्न तयार हुन्छ तर मोफतमा पैसा नबाँड्ने हुन्छ । आफ्नै काम, गुन्डाहरूसँगको अनावश्यक तनावका बीच पनि राजीव एकाएक प्रीति(रेखा) को पिरतीमा निथु्रक्कै भिज्छ । तर त्यत्तिको व्यक्तित्व भएको ऊ किन त्यति हतारमा प्रीतिप्रति आशक्त हुन्छ त्यसलाई खुलाउन आवश्यक नै ठानिएको छैन ।
जे होस्, राजीव-प्रीतिको प्रेम चामत्कारिक गतिमा यति झ्यांगिन्छ, प्रेमीलाई गुन्डाहरूबाट बचाउन प्रीतिले आफ्नै ज्यानको तिलाञ्जलि दिन्छे । राजीव विक्षिप्त बन्छ । तर ऊ बदलाभावमा उत्रिँदैन । बरु मन बहलाउन मुस्ताङ हान्निन्छ । मन बहलिनु त कता कता, राजीवले प्रीतिकै काटीकुटी जिउडाल, अनुहार भएकी युवतीलाई शीतलका रूपमा भेट्छ । गुमेको प्रेमको चोटमा जलेको राजीवले शीतलको मल्हम भेटेको मान्छ । स्वरूप एउटै भए पनि छुट्टै अस्तित्व बोकेकी शीतल भने टुरिस्ट गाइड आदित्य (सबिन) की प्रेमिका हुन्छे । आफ्नै आँखा अघि आदित्यले शीतलका अभिभावकसँग उनको हात मागेपछि भने राजीवले अर्को बिछोडको अनुभव गर्छ । यी सबै घटना फिल्मको मध्यान्तरअघिका हुन् । त्यसपछि हाँसीखेली हुर्केकी चञ्चले स्वभावकी शीतलको जीवन त्यस्तै रहिरहँदैन । आदित्यको हवाइजहाज दूर्घटनामा परी मरेको खबरले ऊ पनि विह्वल बन्छे ।
उज्ज्वल घिमिरेको निर्देशन रहेको फिल्म 'अन्दाज' मा त्यसपछि केही रोमाञ्चकता दिन खोजिएको छ । आदित्यकै जिउडाल र अनुहार भएको युवक गौरवको फिल्ममा प्रवेश हुन्छ । तर त्यसअघि नै राजीवले ढिलो नगरी मायालु गुमाएकी शीतललाई अपनाएको हुन्छ । आफ्नो माया पाएको अनुभूति गरे पनि उसले पत्नीको माया भने पाइरहेको हुँदैन । झन् त्यसमा शितलले पुनः आदित्यलाई देखेपछि परिस्थिति जटिल बन्छ । तर त्यसपछि फिल्मले समापनका लागि लामो समय लगाउँछ । जबकि फर्मुला फिल्मको स्वादले जिब्रो लाटिइसकेका दर्शकका लागि भने 'अन्दाज' फरक स्वाद चखाएको छैन । बरु पटकथाले पुनः पुरानै गुन्डाहरूलाई मगाउँछ र राजीवसँगको संघर्षलाई दोहोर्याएर केही फाइटका मसला घुसाउन भ्याएको छ । सुभाषसिंह बस्नेतले तयार पारेको पटकथामा कतिपय फिल्मले अपनाइसकेका कथालाई जोडघटाउ गरिएको छ । फिल्मका गीत-नृत्यहरू मुस्ताङमा खिचिएकाले जति सुन्दर बनेका छन्, सांगीतिक हिसाबले पनि राम्रै बनेका छन् । छायांकन विष्णु कल्पितको हो भने संगीत वसन्त सापकोटाको ।
अभिनयका हिसाबले फिल्म 'अन्दाज' उल्लेखनीय होइन । दोहोरो भूमिकाको फाइदामा रहेकी रेखाले यसअघिका फिल्ममा अपनाउँदै आएको उदार पहिरन शैलीमा परिवर्तन गर्नुबाहेक अभिनयमा दखल पेस गर्न सकेकी छैनन् । फरक पृष्ठभूमिका दुई पात्रको फरक शैलीलाई फरक प्रस्तुतिमा देखाउने उनको प्रयास अपुग छ । जीवनले भावुक प्रकृतिको चरित्रलाई दर्शक मनसम्म पुर्याउन सकेका छैनन् । निर्देशन पनि उम्दा होइन । मसला फिल्मकै स्वादमा आएको 'अन्दाज' फर्मुला फिल्मकै 'ट्रेन्ड' लाई समातेर तयार पारिएको सतही फिल्म बनेको छ ।
अन्दाज
निर्देशकः उज्ज्वल घिमिरे
कलाकारः जीवन लुइँटेल, रेखा थापा, सविन श्रेष्ठ, राजाराम पौडेल
तस्विर ,समाचार साभारः इकान्तिपुर डट कम (लेखकः सुशील पौडेल)