काठमाडौ, आश्विन २५ - गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को पाँचौं विश्व सम्मेलन आजदेखि राजधानीमा सुरु हुँदै छ । “हाम्रो सञ्जाल, हाम्रो पहिचान ः समृद्ध नेपाल” भन्ने नारा रहेको सम्मेलनमा विभिन्न मुलुकबाट झन्डै सात सयजनाको सहभागिता रहने सङ्घले जनाएको छ । सम्मेलनको क्रममा नेपालमा लगानी प्रवद्र्धन गर्नेसम्बन्धी विभिन्न विषयमा छलफल गर्ने कार्यक्रम छ । यसका प्रवद्र्धनसम्बन्धी अवधारणा पारित गरिने बताइएको छ । विश्वका ७५ देशमा आफ्नो सञ्जाल रहेको एनआरएनले दोहोरो नागरिकता, सामुहिक लगानी, खुला विश्वविद्यालय, सामाजिक क्षेत्रमा एनआरएनको संलग्नताको विषयलाई मूल मुद्दाको रुपमा उठाउँदै आएको छ । यसैगरी सम्मेलनका क्रममा वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन चालिनुपर्ने कदम, सङ्घको वैधानिकता एवम् वित्तीय सुदृढीकरणका लागि चाल्नुपर्ने भावी रणनीति तथा कार्यक्रम, गैरआवासीय नेपाली सम्बन्धी कानुनको पुनरावलोकन लगायतका विषयमा पनि छलफल हुने कार्यक्रम छ । तीन दिनसम्म चल्ने सम्मेलनले यस पटक एनआरएनको नयाँ नेतृत्व चयन गर्नेछ । सङ्घको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष देवमान हिराचन र उपाध्यक्ष जीवा लामिछानेले उम्मेद्वारी घोषणा गरिसक्नुभएको छ । हिराचन जापानमा र लामिछाने रुसमा व्यवसाय सन्चालन गरिरहनुभएको छ । अन्तिम समयसमम सहमति बन्न नसकेमा नयाँ नेतृत्वका लागि एनआरएनको इतिहासमा पहिलोपटक चुनाव हुनेछ । सम्मेलनको प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले केहीबेरमा उद्घाटन गर्नुहुने कार्यक्रम छ । यसअघि चौथो विश्व सम्मेलन दुई वर्ष अघि काठमाडौंमा भएको थियो ।