तिमी ठान्दछौ म फूल हुँ
म फक्रिएको छु
सुगन्ध छरिएको छ
सुवासिलो बनेको छ
यी मेरा पत्र पत्रहरु
म जे भन्दैछु मेरा सोच र बिचारहरु
फलाशा र तुच्छ होईन
संसार कै उपमायोग्य छ
हो ,तिमीमा आत्मा सन्तुष्टि होला
म मान्दछु तर,
त्यो अन्तर हृदयको
व्यग्रता पनि त हुन सक्छ ?
सायद ,
तिम्रो अगाडी म पागल हुँला
भौतिक सुख रोज्दै
द्धेष र रागलाई भित्र पालेर
मन -बुद्धि अशान्त बनाउँदै
इन्द्रियहरुलाई पछि सार्दै
वायुले नाउ ढल्फलाए झैँ हुँला
तर म यति जान्दछु
मेरा भित्री छालहरु वशमा छन्
मन बुद्धि स्थिरताले
आसक्तिलाई नष्ट गर्न सकेको छ
हो म यसलाई सुन्दरता ठान्दछु !
तिमी कठोर नबन
यो सांसारिक भयानक युद्धमा लड्नु छ
औंसीको अनपष्ट रात होईन
जूनको शीतल रात खोज्नु छ
तुवाँलोले ढाकिएको आकाश हैन
निलो गगनमा फक्रिएका सुन्दर फूल जस्ता
अनुहार देख्नु छ
तिमी कसरी आफ्नो सुन्दरताको बखान गरिरहेछौ ?
म सोचिरहेछु तिमी भित्रको सुन्दरता
म अल्मलिएको छैन
मिथ्याचारी महाँ मुर्ख स्वयंलाई छक्काउँने बनेर !
तिमी आफै भन
मरुभूमिमा उभिएका छौ
तातो हावामा झप्किएका छौ
स्वर्गीय पागलपनको अनुभव सँगै
सुक्ष्म आकांक्षा बोकेर
आशाका पखेटा हालेर
निष्कामी कर्मले
जीवनमा पुर्णता खोज्दैछौ
म कसरी भनु ?
तिमी भित्र सुन्दरता छ
सहयोग र सद्भावका
अटुट र अमिट छाप छ
व्यर्थ अनि निरर्थक.......
तिमी ठान्दछौ म फूल हुँ
म फक्रिएको छु !!!
लेखिका ;;- सुमित्रा पौडेल भरतपुर चितवन
हाल ;;-- इजरायल