नारायण सापकोटा,
चितबन कार्तिक ७
चितवनको भरतपुरस्थित नेपाल टेलिकमको भवनमा आज आगलागी भएको छ । बिहान विद्युत् आपूर्ति गर्ने मेसिन रेक्टीफायरमा आगो लागेको हो ।विद्युत् सर्ट भई आगलागी हुँदा रेक्टीफायर मेसिनमा सामान्य क्षति पुगेको छ। तत्कालै थाहा पाएका कारण मेसिनको केबलमात्र जलेको टेलिकमका ईञ्जिनियर भुवनेश्वर शर्माले जानकारी दिनुभयो ।
टेलिकममा खटिएका सुरक्षाकर्मी, प्रहरी, टेलिकम कर्मचारी र भरतपुर नगरपालिकाको दमकलले करिब १ घण्टामा आगो नियन्त्रणमा लिएका थिए ।
टेलिकमका लागि आवश्यक विद्युत् त्यही मेसिनमार्फत आपूर्ति हुने गर्छ । मेसिनले काम नगरे सबै टेलिफोन र मोबाइल सेवा अवरुद्ध हुने ईञ्जिनियर शर्माले जानकारी दिनुभयो । अहिले ब्याट्री ब्याकअपबाट सेवा सञ्चालन गरिएको छ ।
काठमाडौंबाट मर्मत र रेक्टीफायर केबल मगाइसकेकाले छिटै सहज रुपमा सेवा सञ्चालन गर्ने तयारी भइरहेको उहाँले जानकारी दिए ।