दिनेश रेग्मी
दोहा(कतार), आश्विन २४ - कतारको राजकीय भ्रमणमा रहेका राष्ट्रपति डा. रामबरण यादव र कतारका अमिर शेख हमाद बीन खलिफा अलथानीबीच मंगलवार दिउसो दिपक्षीय सहयोग तथा आपसी सम्बधबारे सिष्टाचार भेटवार्ता भएको छ ।
दोहाको कर्निसस्थित अमिरको कार्यालय ‘अमिरी दिवान’ मा राष्ट्रपति र अमिर वीच भेटवार्ता भएको हो । राष्ट्रपतिको स्वागत सम्मानका कतारी सैनिक टुकडीले सलामी अर्पण गरेको थियो ।
भेटवार्ताकै क्रममा राष्ट्रपति र अमिरको उपस्थितीमा नेपाल र कतार बीच कानुन सम्वन्धी सम्झौता र पर्यटन सहयोग संबन्धी स्मृतिपत्र (एमओयु) मा हस्ताक्षर भएको छ । कानुन सम्वन्धी सम्झौतामा नेपालको तर्फबाट भौतिक योजना तथा निर्माण मन्त्री हृदयश त्रिपाठी र कतारको तर्फबाट यहाँका न्यायमन्त्री हसन वीन अब्दुल्ला अल घानिमले हस्ताक्षर गरेका छन् । पर्यटन सम्वन्धी स्मृतिपत्रमामा कतारका लागि नेपाली राजदुत डा. सुर्यनाथ मिश्र र कतार टुरिजम् अथोरिटीका अध्यक्ष अहमद अल नुयमीले गरेको नेपाली दुतावासले जनाएको छ ।
कानुनी संझौतामा यसलाई प्रभावकारी रुपमा अघि बढाउन संयुक्त संयोजन समिति (ज्वाईण्ट कोअर्डिनेसन कमिटी) गरी कुन कुन क्षेत्रमा के गर्न सकिन्छ भन्ने बारे विस्तृत छलफल गर्ने, एक अर्को देशले प्राप्त गरेका अनुभव तथा विज्ञताको आदान–प्रदान गर्ने, कानुन व्यवसायीलाई तालिम तथा अवलोकन भ्रमण गराउने, कानुन सम्वन्धी सम्मेलन गर्ने लगायत छन् ।
त्यस्तै, पर्यटन सम्वन्धि स्मृतिपत्रमा दीर्घकालिन सहयोग र आपसी फाईदाको लागि संयक्त रुपमा काम गर्ने, एक अर्को देशका पर्यटकीय गन्तब्यहरुको प्रचार प्रसार गर्ने, ट्राभल एजेन्सी, टुर अपरेटर, संचारकर्मी तथा युवाहरुको एक अर्को देशमा भ्रमण गराउने, पर्यटनका लागि सार्वजनिक तथा नीजि क्षेत्रमा लगानी लागि प्रोत्साहन गर्ने लगायत छन् ।
राष्ट्रपतिको चार दिने भ्रमणको प्रमुख कार्यक्रम द्धिपक्षीय भेटवार्ता र सम्झौतालाई लिइएको छ । राष्ट्रपति र प्रतिनिधि मण्डलको अमिरी दिवानमा २ घण्टा २० मीनेट बिताएको थियो । अमिरले राष्ट्रपति यादव र प्रतिनिधि मण्डललाई यही नै दिवाभोज दिएका थिए ।
मंगलवारै खाद्यान्न, कृषि तथा पशुपालनमा लगानी गर्ने कतारको हसाद फुड कम्पनीसंग कम्पनीमै छलफल भएको छ । साँझ कतारको परम्परागत बजार (ट्रडिसनल मार्केट) सुक ओकिफ जसलाई नेपालीहरु इरानी मार्केटले चिन्छन्मा राष्ट्रपति र प्रतिनिधि मण्डलले भ्रमण गर्ने कार्यक्रम छ ।
News Source: ekantipur.com