काठमाडौ
काक्तिक १०- हिन्दु नेपालीहको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात तिहारको चौथो दिन आज घरघरमा गोरू पूजा र गोबर्द्धन पूजा गरी मनाइँदैछ ।
गाईको गोबरबाट प्रतिकात्मक रुपमा गोबर्द्धन पर्वत बनाई पूजाआजा गर्ने गरिन्छ । आज गोबर्द्धन पूजा गर्नाले गोर्बद्धन प्रसन्न भई वर्षभरि मानिसलाई चाहिने पानी, घाँसदाउरा र खजिज पदार्थ दिन्छन् भन्ने जनविश्वास रहिआएको छ । हिन्दु धर्मग्रन्थहरुमा उल्लेख भएअनुसार गोबर्द्धन भगवान कृष्णको थातथलो गोकुल नजिकै रहेको पर्वतको नाम हो ।
गोपालहरुले स्वर्गका राजा इन्द्रको पूजा गर्ने गरेकामा कृष्णले गोबर्द्धन पूजा गर्न लगाएको र त्यसबाट अप्रसन्न भएर इन्द्रले भिषण असिनापानीको वर्षा गराइदिएपछि कृष्णले पर्वतलाई नै उचालेर सबै गोकुलबासीको सुरक्षा गरेको र इन्द्रले हार स्वीकार गरी माफी मागेपछि गोबर्द्धन पूजाको परम्परा थालिएको विश्वास गरिन्छ ।
आजै किसानहरुको खेत जोत्ने गोरुको पनि पूजा गर्दछन् भने लक्ष्मीको प्रतिक मानी गाईलाई सिङ्गारेर पूजा गरी मिठोमिठो खानेकुरा खानदिने चलन छ । कतिपयले भने हिजो लक्ष्मी पूजा गर्नुअघि नै गाई पूजा गरिसकेका छन् ।
आजै बेलुका घरघरमा हर्षोल्लासपूवर्क देउसी खेलेर रमाइलो गर्ने परम्परा छ । तर, पछिल्लो समय सद्भाव परम्पराको रक्षा र सामाजिक सद्भाव अभिवृद्धि गर्न खेलिने देउसीभैलाई विभिन्न संघसंस्था र राजनीतिक दलहरुले पैसा सङ्कलन गर्ने अवसरका रुपमा उपयोग गर्दै आएका छन् । आजै नेवारी समुदायले म्हृ अर्थात आफ्नै पूजा गर्ने परम्परा छ ।
नेवारी समुदायका मानिसहरूले भने म्हृ पूजा अर्थात आत्मा पूजा गर्दछन् । यसअघि बुधबार साँझ घरघरमा दीपावली परम्पराअनुससार धनधान्यकी देवी लक्ष्मीको पूजाआरधाना गरिएको छ ।