आश गुरुङ,
लमजुङ-गुरुङ जातिको उद्गम स्थल लमजुङमा भएको मिस तमूस्यो २०११ को अडिसन राउण्डबाट ४ जना युवतीहरु छानिएकाछन् ।
लमजुङ-गुरुङ जातिको उद्गम स्थल लमजुङमा भएको मिस तमूस्यो २०११ को अडिसन राउण्डबाट ४ जना युवतीहरु छानिएकाछन् ।
नेपाल तमू विद्यार्थी छोँज लमजुङको समन्वयमा तमू विद्यार्थी छोँज धीँ कास्कीले वेसीशहरस्थित तमू संग्रहालयमा आयोजना गरेको छनौटवाट ४ जनाले मिस तमूस्यो २०११ मा भाग लिन पाउने भएका हुन् ।
छानिएकाहरुमा भुलभुले २, सिमलचौरकी शारदा गुरुङ, वेसीशहर–३, त्रिवेणीटोलकी सावित्री गुरुङ, खुदी ९, सिउरुङकी भुवनेश्वरी गुरुङ र ईशानेश्वर ९, करापुटारकी पुनम गुरुङ रहेकाछन् । अडिसनमा लमजुङ, तनहुँ, गोरखा र मनाङका युवतीहरुको सहभागिता थियो ।
छनौट भएका मिस तमूस्यो २०११ का प्रतिष्पर्धीहरुलाई नेपाल तमू विद्यार्थी छोँजधीँ लमजुङका अध्यक्ष कृष्ण गुरुङ, कास्कीका सदस्य सञ्जित गुरुङ, सुरज गुरुङ र दीपेन्द्र गुरुङले प्रमाणपत्र र खादा ओढाएर सम्मान र बधाई दिएका थिए ।
पछिल्लो समय जातीय संघसस्थाले सुन्दरी प्रतियोगिता गर्ने होड चलेको बेला तमू विद्यार्थीले मिस तमूस्यो २०११ को आयोजना गर्न लागेको हो । प्रतियोगितामा जातीय, पहिचान र सामुदायिक कुरालाई प्राथामिकता दिईने आयोजकले जनाएको छ ।
फाइनल राउण्डको केन्टेस्टेन्टलाई कास्कीको गुरुङ गाउँहरुमा लगेर गुरुङ जातिको संस्कृतिको बारेमा जानकारी दिइने र गुरुङ संस्कृतिमा आधारित तालिमहरु दिइने कार्यक्रमका संयोजक एवं नेपाल तमु विद्यार्थी छोँज धींँ कास्की जिल्ला अध्यक्ष नोमराज गुरुङले जानकारी दिए ।
मिस तमुस्योको लागि १० जोड २ वा सो सरहको शैक्षिक योग्यता, ५ फिट २ इन्च उचाई, १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने छ ।
मिस तमुस्यो २०११, फस्ट रनर अप, सेकेन्ड रनर अप, मिस ट्यालेन्ट, मिस कल्चर ड्रेस, मिस तमू भाषा, मिस हेयर स्टाइल, मिस बेष्ट पोज, मिस फ्रेण्डली, मिस बेष्ट स्माइल, मिस भिवर च्वाइस, मिस बेष्ट स्कीन गरी १४ विधामा उपाधि दिइने आयोजकले जानकारी दिएको छ ।