उदिपुर असोज २२ गते लमजुङको उदिपुर–घ्याउँसीवासमा १६ बर्षपछि साराते कुवा मेला आजबाट सुरु भएको छ । स्थानीय कला सस्कृतिको संरक्षण र संवद्र्धन, खेलकुदको विकासका साथै पर्यटन बर्ष सन् २०११ लाई सफल बनाउन मेलाको आयोजना गरेको हो । मिनि महोत्सवको रुपमा हुन लागेको मेलामा गुरुङ समुदायमा प्रचलित सवै खालका कलासंस्कृतिको प्रदर्शन, छेलो, दौड, दोहोरीगीत, नृत्य, भलिबल लगायतको प्रतियोगिता गरिने आयोजक साराते युवा क्लबले जनाएको छ । युवाशक्ति विदेसिएपछि गाउँघरका बृद्धबृद्धाले धान्न नसकेको कारण स्थगित मेला अहिले दशैँतिहारसंगै युवाहरुको आगमन बढेपछि र नयाँ पीँढिका युवाहरुले चासो देखाउन थालेपछि मेलाको आयोजना गरिएको हो । साराते कुवा अर्थात तारा खसेर बनेको कुवामा लाग्ने मेला ३ दिनसम्म संचालन हुनेछ । मेलाको आज दिउँसो एक समारोहकावीच लमजुङ क्षेत्र नम्बर १ वाट निर्वाचित सभाषद् बुद्धिराम गुरुङले उद्घाटन गर्नुभएको छ ।