काठमाण्डौ असोज २५ , एकीकृत माओवादीको संस्थापन र असन्तुष्ट दुवै पक्षले बोलाएको राष्ट्रिय कार्यकर्ता प्रशिक्षण भेला स्थगित भएको छ । केहीबेरअघि सम्पन्न केन्द्रीय पदाधिकारी बैठकले प्रशिक्षण भेला स्थगित गर्ने निर्णय गरेको हो । यसैगरी बैठकले केन्द्रीय समितिको बैठक आउने कात्तिक १७ गते बोलाउने निर्णय पनि गरेको छ । पार्टी संस्थापन पक्षले असोज २९ गते भेला बोलाउने निर्णय गरेपछि असन्तुष्ट वरिष्ठ मोहन वैद्य समूहले पनि असोज २८ गते राष्ट्रिय प्रशिक्षण भेला बोलाउने निर्णय गरेको थियो । अलग अलग भेला आह्वान गरिएपछि पार्टीमा विवाद बढ्दै गएको थियो । वैद्य समूहले संस्थापन पक्ष एक्लौटी रुपमा चल्न खोजेको, आफूहरुसँग कुनै पनि विषयमा सल्लाह लिने नगरेको, सीमित व्यक्तिहरुको मात्रै कुरा सुन्ने प्रवृत्ति बढ्दै गएको आरोप लगाउँदै आएको छ । पार्टीको शीर्ष नेताहरुबीच विवाद कायम रहेकोले केन्द्रीय समितिको बैठक पनि स्थगित हुँदै आएको छ ।