रसुवा,
कात्तिक १३-स्याफुबेँसी–रसुवागढी अन्तर्राष्ट्रिय केरुङमार्गको निर्माण अन्तिम चरणमा पुगेपछि मालवाहक ट्रकहरू काठमाडौँ र त्रिशुली नुवाकोटको व्यापारिक केन्द्रबाट खाद्यात्र बोकी टिमुरे पुग्न थालेका छन् । प्रमुख व्यापारी केन्द्रबाट टिमुरेसम्म मालवाहक ट्रक पुग्न थालेपछि नुन, तेल, दाल, चामलजस्ता खाद्य सामग्री सर्वसुलभ तवरले उपलब्ध हुन थालेको स्थानीय कामी नुर्पु तमाङले जानकारी दिनुभयो ।
राजधानी काठमाडौँबाट १५० किलोमिटर उत्तरमा अवस्थित टिमुरे, खैडी र घट्टेखोला तथा थुमनको दालगाउँ क्षेत्रका बासिन्दालाई दैनिक उपभोग्यवस्तु खरिदमा सजिलो भएको छ । यसैगरी, पासाङल्हामु मार्ग उपयोग गरी अवैध सामग्री निकासी हुन थालेपछि मालवाहक सवारीसाधन जाँचका लागि लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाले जाँचयन्त्र प्रयोगमा ल्याएको छ ।
ट्रकभित्र चामल, पिठो, चाउचाउ, बिस्कुटजस्ता खाद्य सामग्री लुकाइछिपाइ लानसक्ने आशङ्का बढ्दै गएपछि धुन्चेमा सामान परीक्षण थालिएको अह्रिदमन गणले जनाएको छ ।