को-को जाँदैछन् भारत ?
काठमाडौं, कात्तिक ३-

बुधबार दिउँसोसम्म ३४ सदस्यीय भ्रमण दल तय भए पनि साँझ मन्त्रिपरिषद् बैठकले तीनजनाको नाम थपेको थियो। उद्योग सचिव शंकर कोइराला, अर्थ-सहसचिव लालशंकर घिमिरे र उपसचिव हेमराज घिमिरेको नाम भ्रमण दलमा बुधबार साँझमात्र थप गरिएको थियो।
भ्रमण दलमा रहेका अन्य सदस्यको हवाई टिकट बुधबार बिहानै मिलाइए पनि थपिएका तीनलाई साँझसम्म पनि दिल्ली जाने टिकट मिलेको थिएन।
प्रधानमन्त्रीसँगै भारत जाने मन्त्रीहरूमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, उद्योगमन्त्री अनिलकुमार झा, सञ्चारमन्त्री जयप्रकाश गुप्ता, भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठी, सिँचाइमन्त्री महेन्द्रप्रसाद यादव, स्वास्थ्यमन्त्री राजेन्द्र महतो छन्। सभासद् ओमप्रसाद यादव र हरि रोकालाई पनि भ्रमण दलमा समेटिएको छ। यस्तै, मुख्य सचिव माधव घिमिरे, परराष्ट्र कामु सचिव दुर्गाप्रसाद भट्टराई, अर्थ सचिव कृष्णहरि बास्कोटा, वाणिज्य सचिव पुरुषोत्तम ओझा, कानुन मन्त्रालयका निमित्त सचिव राजुमान सिंह, गृह सचिव सुशीलजंग राणा, उद्योग सचिव शंकर कोइराला, ऊर्जा सचिव किशोर थापा भ्रमण दलमा छन्। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार रामेश्वर खनाल पनि प्रधानमन्त्रीसँगै भारत जाँदैछन्। परराष्ट्रबाट भ्रमण दलमा शिष्टाचार महापाल मुक्तिनाथ भट्ट, दक्षिण एसिया तथा सार्क महाशाखा प्रमुख भरत पौड्याल, उपसचिव ऋषिराम घिमिरे, नायब शिष्टाचार महापाल यादव खनाल, रोशन खनाल छन्। अर्थबाट सहसचिव लालशंकर घिमिरे र उपसचिव हेमराज घिमिरे पनि भ्रमण दलमा छन्। भ्रमण दलमा प्रधानमन्त्रीकी श्रीमती हिसिला यमी, स्वकीय सचिव विश्वदीप पाण्डे, परराष्ट्रमन्त्रीका स्वकीय सचिव शंकर दुलाल, प्रधानमन्त्रीका एडिसी दिनेश कार्की, इन्स्पेक्टर दीपक गिरी, फोटोग्राफर दिनेश श्रेष्ठ, नेपाल टेलिभिजनका दुई, रेडियो नेपाल र राष्ट्रिय समाचार समितिबाट एक-एक पत्रकारसमेत छन्।
भारतमा के के छ कार्यक्रम ?
दिल्ली पुग्नेबित्तिकै प्रधानमन्त्रीले सञ्चारकर्मीसँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ। साँझ उनी नेपाल डेमोक्रेसी सोलिडारिटी कमिटीले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन्।
'महŒवपूर्ण कार्यक्रम सबै शुक्रबार राखिएका छन्,' परराष्ट्रका शिष्टाचार महापाल भट्टले जानकारी दिँदै भने, 'भारतका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसँग भेटवार्ता शुक्रबारै हुनेछ।'
भट्टका अनुसार भारतीय समकक्षी मनमोहन सिंहसँग प्रधानमन्त्री भट्टराईले शुक्रबार द्विपक्षीय हितका विषयमा वार्ता गर्नेछन्। शनिबार भारतका केही मन्त्री, प्रतिपक्ष दलका नेता तथा अन्य प्रमुख दलका नेताले प्रधानमन्त्रीसँग भेट गर्नेछन्। 'भारतका ठूला उद्योगी तथा व्यापारीसँग शनिबारै छलफल गर्ने प्रधानमन्त्रीको कार्यक्रम छ,' भट्टले जानकारी दिए। छलफलमा भारतीय उद्योगी तथा व्यापारीलाई भेटमा उनले नेपालमा लगानी गर्न आह्वान गर्ने बताइएको छ। भ्रमणको अन्तिम दिन आइतबार बिहान प्रधानमन्त्री उत्तराखण्डको देहरादून जाने कार्यक्रम तय गरिएको छ। उनले त्यहाँ एक घन्टा विकास गतिविधि अवलोकन गर्नेछन्। उत्तराखण्डको गभर्नरको दिवा भोजमा सहभागी भई प्रधानमन्त्री दिल्ली हुँदै आइतबार स्वदेश फर्कनेछन्। साभारः(नागरिक)