पाँच वर्ष अघि कामको खोजीमा थाइल्याण्डको बैंकक पुगेका बिराटनगर स्थायी घर भएका सुमन अधिकारी यतिबेला बैंककमा करोडौंको कारोबार गरी दर्जनौं मानिसलाई रोजगारीसमेत प्रदान गर्दै आएका छन् । बैंककमा उनले युरो एसिया रेष्टुरेन्ट, युरो एसिया ट्राभल एजेन्सीलगायतका व्यवसाय संचालन गरी नाम र दाम सँगसँगै कमाएका छन् । नेपालमा गैरआवासीय नेपाली संघको पाँचौ विश्वसम्मेलन भाग लिन आएका २८ वर्षीय अधिकारी बैंककमा एक प्रतिष्ठित व्यापारीको रुपमा स्थापित भइसकेका छन् । आफ्नो व्यापार विस्तार गर्ने क्रममा बेलायतको लण्डनमासमेत रेष्टुरेन्ट खोलिसकेका उनै अधिकारी सँग भिष्मराज ओझा/सुमन वैरागी ले गरेको कुराकानीको अंशः
गैरआवासीय नेपाली संघको पाँचौ विश्व सम्मेलन कस्तो रह्यो ?
विश्वभरी छरिएर रहेका नेपालीहरु जो आफ्नो देशको माया सँगसँगै विभिन्न व्यापारका क्षेत्रमा पनि संलग्न छन् । ती सबैको जमघट हुने थलोका साथै आफ्नो मातृभूमिका लागि केही गरौं भन्ने विषयमा भएको छलफलले यो सम्मेलन सफल रह्यो । निर्वाचनमा जीत र हार सामान्य कुरा हो । मूल कुरा संस्थाले आफ्नो उद्देश्यमा कसरी सफलता हासिल गर्ने भन्ने नै भएकाले एनआरएन ले गरेको प्रतिवद्धता यो देशका लागि सकारात्मक मान्नुपर्छ ।
एनआरएनले हालसम्म नेपालमा के ग¥यो त ?
त्यस्तो ठ्याक्कै देखिने गरी गर्ने कार्य विस्तारै हुन्छ । तर नेपाल बाहिर रहेका गैरआवासीय नेपालीहरुलाई एउटै सांगठनिक छाताभित्र समेट्न सकेको छ । साथै दुई वर्षमा एक दिन आफ्नो मातृभूमिमा भेला भएर मातृभूमिका लागि केही गरौं भन्ने भावना र योजना नै एक दिन कार्यान्वयन हुनेछ । र नेपालमा आर्थिक विकासका साथै बेरोजगारी समस्या हल गर्न एनआरएनको लगानी कोसेढुंगा सावित हुनेछ ।
नेपालको आर्थिक विकासका लागि के गर्नुपर्ला ?
नेपाल प्राकृतिक सम्पदाले सम्पन्न मुलुक हो । सानो भूभागभित्रको प्राकृतिक विविधता नेपालको लागि अमूल्य सम्पत्ति हो । यसलाई विश्वभर क्यास गर्न सके नेपाल संसारमै धनी मुलुकमा पर्न सक्छ । नेपालमा पर्यटनको सम्भावना प्रचुर मात्रामा छ । तसर्थ पर्यटनबाटै नेपालको आर्थिक विकास मनग्य रुपमा गर्न सकिन्छ । विश्वमा धेरै मुलुकहरु पर्यटनकै विकासबाट अगाडि बढेका छन् । यो कुरा नेपालका उद्योग व्यवसायी र सरकारले बुझ्नु जरुरी छ । पर्यटन भनेको कम लगानीमा धेरै प्रतिफल हुने व्यवसाय हो । यो व्यवसायमा घाटा लाग्ने वा टाट पल्टिने अवस्था पनि हुँदैन ।
नेपालमा बैदेशिक लगानी किन बढेको छैन ?
नेपालमा बैदेशिक लगानी भित्र्याउनका लागि सर्वप्रथम लगानी सुरक्षाको खाँचो छ । त्यो सुरक्षा भनेको व्यक्तिको जीउधन देखि उसको पेशा, व्यवसाय र भाषा संस्कृतिसम्म हुनुपर्छ । अहिले विश्वका धेरैजसो मुलुकहरुमा लगानीमैत्री वातावरण भएकै कारणले आर्थिक विकास सम्भव भएको हो । उदाहरणको रुपमा हामी मलेसियालाई हेर्न सक्छौं । त्यहाँ छोटो समयमै वैदेशिक लगानीको बढ्दो प्रभावले मलेसियाको आर्थिक विकास चमत्कारिक हिसाबले अगाडि बढ्दैछ । नेपालमा पनि राजनीतिक स्थायित्वका साथै बैदेशिक लगानी गर्नेहरुलाई सरकारले संरक्षण गरी उचित वातावरण निर्माण गर्न सके छोटो समयमै आर्थिक विकासमा फड्को मार्न सकिन्छ । नेपालका लागि अझ सकारात्मक कुरा के हो भने यहाँ बेरोजगारीको धेरै समस्या छ । जुन सस्तो श्रमको रुपमा उद्योगमा उपयोग गर्न सकिन्छ ।
विदेशमा नेपालीहरुको अवस्था कस्तो छ ?
आफ्नो मातृभूमिभन्दा बाहिर जतिसुकै राम्रो भएपनि त्यो केही क्षणका लागि मात्रै हो । अन्ततः सबैलाई आफ्नो मातृभूमि चाहिन्छ । विदेश पनि भन्नु मात्रै हो । त्यहाँ उसका पीडाहरु असंख्य रुपमा रहेका हुन्छन् । मान्छेका भित्रका पीडाहरु कसैले देख्दैन । उसले कमाएर ल्याएको डलर मात्र देखिन्छ । त्यसैले बाहिरबाट हेर्दा सुनौलो जीवन देखिएपनि विदेशको रहनसहनको अन्धकारको पाटो पनि छ । थाइल्याण्डमा नेपालीहरुको अवस्था हेर्ने हो भने अन्य मुलुकहरुको तुलनामा राम्रो नै छ । तर कहिलेकाहीँ यो वर्माका शरणार्थी नेपालीहरुले नेपालको नाम बेचेका कारण हैरानी सहनुपर्छ ।
राम्रो वातावरणमा मात्र लगानी गर्ने तपाईहरुले आफूले वातावरण बनाउँदा हुँदैन ?
तपाईले भनेको कुरा ठीकै हो । सहज परिस्थितिम सबैले लगानी गर्न सक्छन् । तर सहज परिस्थिति बनाउनु चुनौतीपूर्ण कार्य हो । त्यसका लागि कि जनताको ठूलो साथ चाहिन्छ, कि राज्यको कानुनी अधिकार चाहिन्छ । अहिले हामीसँग यी दुवैको अभाव छ । नेपालमा अति राजनीति भएका कारण व्यापार थाल्ले वित्तिकै विभिन्न राजनीतिक दल र भातृसंस्थाका नाममा चन्दा र सहयोग माग्न झुम्मिन्छन् भने कुनै पनि उद्योग र व्यवसायको सुरक्षा र क्षतिपूर्तिका लागि हाम्रो कानुन नै फितलो छ । तसर्थ हामीले चाहेर पनि बैदेशिक लगानीका लागि सहज वातावरण निर्माण गर्न सक्दैनौं ।
थाइल्याण्डमा एनआरएनको उपस्थिति कस्तो छ ?
विश्वका ५६ एनआरएन च्याप्टरहरुमध्ये थाइल्याण्डको एनआरएन बलियो पकडमा उपस्थित छ । यो मेरो दावा हो कि हामीले अन्य देशका एनआरएनको तुलनामा थाइल्याण्डमा सांगठनिक हकहित र समाज सेवामासमेत सफलता हासिल गरेका छन् । केही दिन अघिमात्रै थाइल्याण्डमा आएको राष्ट्रिय विपत्ति बाढीबाट पीडितका लागि हामीले उद्धारको कार्यसमेत गरेका थियौं । कहिलेकाहीँ हामीलाई देखिने समस्या भनेको आप्रवासी वर्मेलीहरुको झमेला मात्र हो ।
अरबौंको लगानी गर्छौं भन्नेहरुले आफ्नो सम्मेलन गर्नलाई सरकारसँग पैसा माग्यो नि ?
हो हामीले पनि सुन्यौं । दिन आएका एनआरएनले सरकारसँग पैसा मागेर सम्मेलन ग¥यो । यो कुरा एनआरएनका नेतृत्वलाई बढी जानकारी होला । म पहिलोपटक एनआरएनमा भाग लिन आएको र नेतृत्वको सम्बन्धमा कुनै जानकारी नभएका कारण आलोचनाका बारेमा केही बोल्दिनँ । तर एउटा कुरा के हो भने स्थापना हुने क्रममा रहेको एनआरएनले चाँडै नै नेपालमा जनताले चाहे बमोजिमको लगानी गर्नेछ ।
छोटो समयमा थाइल्याण्डको विकास कसरी सम्भव भएको होला ?
सन् १९६० को दशकमा नेपाल र थाइल्याण्डको आर्थिक तुलना एउटै थियो । तर ६० को दशकपछि थाइल्याण्डको आर्थिक विकास अहिले विकसित अवस्थामा पुग्यो भने हाम्रो विकास अल्पविकसित नै छ । यसको एउटै प्रमुख कारण के हो भने उद्योग व्यवसायको स्थायित्व । नेपालमा राजनीतिक अस्थिरता छ र सँगसँगै उद्योग व्यवसायका क्षेत्रमा पनि राजनीति हुन्छ । तर थाइल्याण्डमा भने राजनीतिक अस्थिरता भएपनि उद्योग व्यवसायका सम्बन्धमा कुनै सम्झौता गरिँदैन । त्यहाँको कानुनी व्यवस्थाले नै उद्योग व्यवसायको सुरक्षा र बैदेशिक लगानीमा ग्यारेन्टी गरेको छ । छोटो समयमा थाइल्याण्डको विकास हुनुको अर्को प्रमुख कारण भनेको पर्यटन व्यवसाय हो ।
नेपालको पर्यटन क्षेत्रलाई अगाडि बढाउन के गर्नुपर्ला ?
सर्वप्रथम त नेपालमा घुम्न आउने पर्यटकहरुको मुलुकमा व्यापक प्रचारप्रसार गर्नुपर्दछ । हाल नेपालले मनाइरहेको पर्यटन वर्ष २०११ नेपालमा जति चर्चामा छ, बाहिर केही पनि छैन । यो कुरामा सरकारले ध्यान दिनु प¥यो । पर्यटन वर्ष २०११ को सम्बन्धमा मात्र होइन, नेपालका प्राकृतिक सौन्दर्यता र पुरातात्विक महत्वका विषयमा प्रचार नै पर्यटनका लागि प्रमुख आधार हो । उदाहरणका लागि थाइल्याण्डमा भारतीयहरुले बुद्ध जन्मेको आफ्नो देश भनेर भ्रम फैलाएका छन् । यद्यपि हामीले त्यससम्बन्धमा धेरैपटक प्रतिकारसमेत गरेका छौं । त्यसैगरी पर्यटनको विकासका लागि अर्को महत्वपूर्ण कुरा भनेको सुरक्षा र सुविधा हो । कुनै पर्यटक दुर्गम हिमाली क्षेत्रमा जानुप¥यो भने उसलाई सुरक्षित रुपमा त्यहाँसम्म पुग्नका लागि साधनका साथै रहने उचित सुविधा आवश्यक हुन्छ ।
अन्त्यमा हाम्रो संचार माध्यममार्फत तपाईको केही भनाई छ कि ?
नेपालभन्दा बाहिर रहेका म जस्ता हजारौं युवाहरु रहरले होइन, बाध्यताले विदेशमा बसिरहेका छन् । हामी त्यो दिनको प्रतिक्षामा छौं जुन दिन बिदेशमै सरह ढुक्क भएर काम गर्न र लगानी गर्न पाइयोस् । यसका लागि हामी हाम्रो हरेक मूल्य चुकाउन तयार छौं । तर सरकारले यसको वातावरण मिलाइदिनुपर्छ । त्यसो हुन सके आफ्नो घरपरिवार, कला संस्कृति र मुलुक छोडेर विदेशिनु पर्दैन ।
प्रस्तुति ः भिष्मराज ओझा÷सुमन वैरागी